'महानायक' उपाधिबारे चलचित्रकर्मी विभाजित, हमालले भने– उहाँलाई माफ गरिदिनुस्
‘महानायक’ उपाधिको कारण वेलाबखत राजेश हमाल विवादमा तानिंदै आएका छन्। तर, यसपटक उनी नभई कलाकार तथा निर्देशक दीपाश्री निरौला विवादमा परिन्। सामाजिक सञ्जालमा उनको तीव्र विरोध भएपछि राजेश हमालले फेसबूकमा भिडियो सार्वजनिक गर्दै माफ गरिदिन आफ्ना समर्थकसँग आग्रह गरेका छन्।
भिडियोमा उनले दीपाश्रीको नाम भने लिएका छैनन्। राजेशले भनेका छन्, “मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई क्षमा दिनुहोला।”
“मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई क्षमा दिनुहोला।”
सकारात्मक प्रतिक्रियाका साथ कलाकारलाई अगाडि बढ्ने वातावरण बनाइदिन पनि उनले आग्रह गरेका छन्। आफूले कुनै चलचित्रमा काम गरेर गल्ती नगरेको उनको भनाइ छ।
“त्यो वेला धेरै चलचित्रमा काम गरेर वा म आफूले छनोटका आधारमा चलचित्रमा काम गरेर गल्ती गरें भन्ने मलाई लाग्दैन, मैले चलचित्र छनोट गरेको भए ‘गाउँले’ र त्यसको गीत ‘गोली शिशाको’ मा उहाँ हुनुहुन्थेन होला” दीपाश्रीलाई लक्षित गरी उनले भनेका छन्।
दीपाश्रीले टेलिभिजन कार्यक्रम ‘रजतपट अंकल’ मा दिएको अन्तर्वार्तामा राजेश हमालको महानायक उपाधिमाथि प्रश्न उठाएकी थिइन्। यही कारण उनको आलोचना भएको थियो। चर्को आलोचना हुन थालेपछि उनले सामाजिक सञ्जाल मार्फत नै माफी पनि मागेकी थिइन्।
उनका सहकर्मी दीपकराज गिरीले पनि फेसबूक स्टाटसमा अन्तर्वार्ता दिन नाइँ भन्न नसक्दाको प्रतिफल भएको जनाएका थिए। त्यही स्टाटसमा ‘अन्तर्वार्तादेखि होशियार’ लेखेपछि उनको पनि आलोचना भएको थियो।
निरन्तर आलोचना भएपछि दीपकले ‘छक्का पञ्जा ब्रान्ड’ माथि प्रहार भएको भनेर फेसबूकमै भिडियो सार्वजनिक गरे। साढे २१ मिनेट लामो भिडियोमा उनले यो विवादमा ‘महानायक’ ले पाइरहेको समर्थन झूटो भएको पनि दाबी गरेका छन्।
उनले भनेका छन्, “महानायकलाई यत्ति धेरै समर्थन आएको छ। हाम्रो टोलीलाई त्यति धेरै गाली आएको छ। चलचित्रकर्मीहरूप्रति देखिएको यो चासो साँच्चै भइदिएको भए नेपाली चलचित्रको अवस्था यस्तो हुन्थेन, वर्षमा एकाध मात्र चलचित्र चलेको हो कि जस्तो हुने थिएन। यो विवाद लम्बिनुको प्रमुख कारण छक्का पञ्जा ब्रान्डप्रतिको प्रहार हो।”
दीपकले अधिकांश ‘फेक आईडी’ बाट आफूहरूमाथि भद्दा प्रतिक्रिया आइरहेको जनाएका छन्। यसो गर्न नरोकिए कानूनी उपचार खोज्ने पनि उनले चेतावनी दिएका छन्। यद्यपि उनीहरूमाथि आलोचना रोकिएको छैन।
यही विवादका बीच दीपकले १८ नोभेम्बर २०१६ मा फेसबूकमा राखेको फोटो पनि भाइरल भएको छ। त्यसवेला दीपकले राजेश हमालसँग हात मिलाउँदै गरेको फोटो सेयर गर्दै लेखेका छन्, “हिजो ७१औं दिनमा महानायकले छक्का पञ्जा हेर्नुभयो।”
दुई खेमामा बाँडिए चलचित्रकर्मी
विवादसँगै चलचित्रकर्मीहरू ‘महानायक’ उपाधिको पक्ष र विपक्षमा अभिव्यक्ति दिन थालेका छन्। तुलसी घिमिरे, युवराज लामा, राजेन्द्र खड्गी लगायत चलचित्रकर्मी ‘महानायक’ उपाधिको पक्षमा छन्।
उता अभिनेत्री केकी अधिकारीले दीपाश्री महिला भएकै कारण धेरै आलोचना खेप्नुपरेको भन्दै फेसबूक स्टेटस लेखेकी छिन्। निर्देशक दीपेन्द्र लामाले पनि राजेश हमाललाई ‘महानायक’ भन्ने आधार नरहेको बताउँदै आएका छन्। उनले एक अन्तर्वार्तामा भनेका छन्, “राजेश हमाल मात्रै होइन भुवन केसी, शिव श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, दिलीप रायमाझी, उत्तम प्रधान, निखिल उप्रेती, विराज भट्ट, रमेश उप्रेती लगायत सबैको पसिना परेको छ, नेपाली फिल्ममा। कुनै एकलाई ‘महानायक’ घोषणा गर्नु अरूप्रति अन्याय हो।”
डेढ दशकअघि कान्तिपुर टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘रजतपट’ ले राजेश हमाललाई ‘महानायक’ को उपाधि दिएको थियो। त्यसको केही समयपछि चलचित्र प्राविधिक संघले एक औपचारिक कार्यक्रममा उपाधि अनुमोदन गरेको थियो।
नेपाल चलचित्र कलाकार संघले अहिले सामाजिक सञ्जालमा देखिएको कलाकारहरूको विवाद वार्ताबाट समाधान गर्न अनुरोध गरेको छ। संघले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा देखिएको विवादबारे संघमा आएर समाधानको बाटो खोज्न आग्रह गरिएको छ।