गण्डकी मेडिकल कलेजको धन्दा, राजनीतिक आडमा मनपरी शुल्क
- रामु सापकोटा, काठमाडौं र युवराज श्रेष्ठ, पोखरा
मेडिकल कलेजका सञ्चालकले राजनीतिक आडमा नियम विपरीत चर्को शुल्क असुल्ने धन्दा नरोकिंदा विद्यार्थी मारमा परिरहेका छन्।
पढाइमा अब्बल मंगलसेन, अछामका परिवर्तन भाट (२४) लाई डाक्टर बन्ने इच्छा थियो । कक्षा १२ उत्तीर्ण गरेपछि उनी २०७२ सालमा एमबीबीएस पढ्ने तयारीमा लागे । एमबीबीएस तहका लागि सरकारले तोकेको शुल्क रु.३८ लाख ५० हजारमध्ये भर्ना हुने बेला पहिलो किस्ताबापत ५० प्रतिशत रकम तिर्नुपर्ने भयो ।
उनका बाबुआमाले धनगढीमा रहेको जग्गा रु.१६ लाखमा बिक्री गरे । त्यसमा थपथाप गरी रु.१९ लाख २५ हजार बोकेर अभिभावक छोरालाई गण्डकी मेडिकल कलेज, पोखरामा भर्ना गर्न काठमाडौंको कमलादीस्थित कार्यालय पुगे । तर, कलेजकी क्यासियरले पहिलो किस्ता नै रु.२९ लाख मागिन् । अहिले गण्डकी मेडिकल कलेजमा तेस्रो वर्षमा अध्ययनरत भाट भन्छन्, “किन त्यति रकम तिर्ने भनेर प्रश्न गर्दा भर्ना हुने भए तिर भने ।” त्यसबेला कलेजका अध्यक्ष खुमा अर्याल र प्रशासनमा कार्यरत तिलक पौडेल पनि सामुन्नेमै थिए ।
कलेजले अतिरिक्त रु.९ लाख ५० हजार मागेपछि भाट गण्डकीलाई सम्बन्धन दिने त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीसमक्ष गुनासो गर्न गए । आईओएमबाट उनले कुनै सहयोग पाएनन् । डा.केसीले भने कलेजका विरुद्ध जिल्ला प्रशासनमा उजुरी दिन सल्लाह दिए, तर उनले त्यो जोखिम लिन चाहेनन् ।
अन्ततः भाटले पहिलो किस्तामा रु.२० लाख बुझएर भर्ना पाए । तर, कलेजले एमबीबीएसको कक्षा शुरू हुनुअघि थप रु.९ लाख माग्यो । अतिरिक्त रकम नदिंदा एक महीनासम्म होस्टलमा बस्ने सुविधा खोसेको कलेजले जेनतेन गरेर रु.२ लाख बुझाएपछि मात्र बस्न दियो ।
त्यसपछि तेस्रो वर्षसम्म अध्ययन गरिरहँदा कलेजलाई कुल रु.२९ लाख बुझाएको उनी बताउँछन् । “कलेजले वार्षिक र आन्तरिक परीक्षामा बस्न नदिनेसम्मको स्थिति बनेपछि बाध्य भएर अतिरिक्त रकम बुझाउनुपर्यो” भाट भन्छन्, “कलेजले शीर्षक र आधिकारिक रसिद विना २९ लाख असुल्यो ।”
गण्डकी मेडिकल कलेजले चालु शैक्षिक सत्र २०७५/७६ मा भर्ना हुने विद्यार्थीबाट पनि अतिरिक्त रकम असुलेपछि अहिले गण्डकीमा एमबीबीएस सहित अन्य विषय अध्ययनरत विद्यार्थी आन्दोलनरत छन् । आन्दोलनका कारण गएको १२ फागुनमा तय गरिएको २०७२ सालमा भर्ना भएका भाट सहितका ८६ जना विद्यार्थीले वार्षिक परीक्षा दिन पाएनन् । अहिले कलेजको पठनपाठन र अस्पताल मार्फत बिरामी जाँच्ने काम ठप्प छ । विद्यार्थी भाट कलेजले अतिरिक्त रकम असुल्ने धन्दा नरोकेपछि सिर्जित अवस्थाका कारण आफूहरूले परीक्षा दिन नपाएको बताउँछन् ।
कलेजले चालु शैक्षिक सत्रमा भर्ना भएका ९५ विद्यार्थीमध्ये १८ जनाबाट पहिलो वर्षमै अतिरिक्त औसत साढे ३ लाख रुपैयाँका दरले असुलेको छ । कलेजले विद्यार्थीबाट विना रसिद सरकारले तोकेको भन्दा रु.१० लाखदेखि रु.१५ लाख बढी रकम असुल्ने गरी शुल्क उठाउन थालेको हो । २०७२ सालको मन्त्रिपरिषद्को बैठकले एमबीबीएस अध्ययन शुल्क काठमाडौं बाहिरका मेडिकल कलेजमा रु.३८ लाख ५० हजार र उपत्यकाभित्र रु.३५ लाख तोकेको थियो ।
गण्डकी मेडिकल कलेजले एमबीबीएसका साथै बीडीएस, नर्सिङ लगायत विषयमा मनपरी शुल्क असुल्न थालेपछि गएको १६ माघदेखि विद्यार्थीले पाँचबुँदे माग सहित आन्दोलनको घोषणा गरेका हुन् । आन्दोलन भएको डेढ महीना बितिसक्दा पनि निकास ननिस्कँदा विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।
शुल्कमा कालोबजारी
गण्डकी मेडिकल कलेजमा उत्पन्न समस्यालाई तत्काल निरुपण गर्ने भन्दै नेपाल मेडिकल काउन्सिलले १० फागुनमा खटाएको निरीक्षण टोलीको अध्ययन प्रतिवेदनबाट कलेजले शुल्कको नाममा ठगी गरेको पुष्टि हुन्छ ।
हिमाल लाई प्राप्त उक्त प्रतिवेदनले मेडिकल काउन्सिल दर्ता शुल्क बापत प्रति विद्यार्थी रु.३ हजार, त्रिविको दर्ता शुल्क नेपालीबाट रु.५०० र विदेशीबाट रु.१००० गरी कुल ३५०० वा ४००० मात्र रकम लिन पाउनेमा गण्डकीले प्रति विद्यार्थी रु.४५ हजारदेखि रु.५० हजारसम्म असुलेको देखाएको छ ।
यस्तै, होस्टलमा नबस्ने, कलेजको यातायात प्रयोग नगर्ने स्थानीय विद्यार्थीबाट समेत त्यस सम्बन्धी शुल्क असुलेको र विद्यार्थीले तिर्नुपर्ने रकम ब्याङ्क मार्फत कलेजको खातामा जम्मा नगरी सोझै कलेज सञ्चालकको खातामा जम्मा गर्न लगाएको जस्ता विषय काउन्सिलको प्रतिवेदनले उजागर गरेको छ ।
कलेज सञ्चालकको खातामा रकम जम्मा हुने गरेको तथ्यले कलेज प्रशासनको आर्थिक पारदर्शितामाथि गम्भीर प्रश्न उठेको काउन्सिलले उल्लेख गरेको छ ।
काउन्सिलको प्रतिवेदनमा भनिएको छ, “एमबीबीएस तह अध्ययनको क्रममा इन्टर्नसिप शुल्क शीर्षकमा कलेज प्रशासनले प्रति विद्यार्थी रु.१ लाख ९२ हजारसम्म रकम लिएको अनुसन्धानको क्रममा फेला परेको छ ।” जबकि इन्टर्नसिप गर्ने विद्यार्थीलाई कलेजले उल्टै निर्वाह भत्ता दिनुपर्ने प्रावधान छ ।
प्रतिवेदन मार्फत कलेजमा व्यापक अनियमितता देखिएपछि काउन्सिलले त्रिवि उपकुलपतिलाई २२ फागुनमा पत्राचार गरेर दोषी देखिएकालाई कारबाही प्रक्रिया अघि नबढाए समस्याले विकराल रूप लिने भन्दै सचेत गराएको छ ।
यसैबीच, २२ फागुनमै गण्डकीका विद्यार्थीले जिल्ला प्रहरी कार्यालय, कास्कीलाई कलेज सञ्चालक खुमा अर्याल सहित १० जना विरुद्ध दिएको ठगीको उजुरीका आधारमा प्रहरीले कारबाही थाल्यो । तीमध्ये कलेजका पूर्व प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मा उजुरी दिएकै दिन पक्राउ परे ।
प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि कलेजका अध्यक्ष अर्याल, प्रिन्सिपल रवीन्द्र श्रेष्ठ, लेखा प्रमुख युवराज शर्मा, लेखाकै अर्का कर्मचारी हरिमाया पौडेल, प्रशासनका दिनेश पौडेल, तिलक पौडेल, अन्य कर्मचारीहरू कृष्ण पौडेल र कृष्ण घिमिरे फरार छन् ।
पक्राउ परेका विरुद्ध प्रहरीले २३ फागुनमा अदालतमा ठगीको मुद्दा दर्ता गरेको थियो । अवैध शुल्क असुलेर ठगी गरेको भन्दै विद्यार्थीले सञ्चालक सहित १० जना विरुद्ध २१ फागुनमा सम्पत्ति शुद्धीकरण विभागमा समेत उजुरी दिएका छन् । कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम राना सञ्चालक अर्याल सहित आठ जनाको खोजी भइरहेको बताउँछन् ।
स्थानीय प्रशासनले कारबाही थालेपछि कलेजका अध्यक्ष अर्यालले २३ फागुनमा जिल्ला अदालत कास्की, जिल्ला प्रहरी, जिल्ला प्रशासन, जिल्ला न्यायाधिवक्ताको कार्यालय र तीन विद्यार्थीलाई विपक्षी बनाएर निषेधाज्ञाको अन्तरिम आदेश माग्दै उच्च अदालत पोखरामा रिट दर्ता गरे । रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालतले जारी गरेको आदेश अनुसार २९ फागुनमा विपक्षीहरू अदालतमा उपस्थित भएका थिए ।
रिटमाथिको बहसपछि ३० फागुनमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश कुमार चुँडाल र न्यायाधीश रामचन्द्र यादवको इजलासले जिल्ला अदालत कास्कीको अनुमतिमा प्रहरीले जारी गरेको पक्राउ पुर्जीमा अन्तरिम आदेश दिन नमिल्ने ठहर गरेको छ । अदालतको यो आदेशपछि ठगीको आरोपमा पक्राउ पुर्जी जारी भएका अर्याल सहित आठ जनालाई पक्राउ गर्ने बाटो खुलेको छ ।
राजनीतिक संरक्षण
गण्डकी मेडिकल कलेजले वर्षौंदेखि शुल्कमा ठगी गर्दै आए पनि सञ्चालक अर्यालको राजनीतिक पहुँचकै कारण अहिलेसम्म कारबाही हुन नसकेको जानकारहरू बताउँछन् । अर्याल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । संविधानसभाको दोस्रो निर्वाचनमा स्याङ्जाबाट कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीमा भए पनि पार्टीभित्रको असन्तुष्टिपछि उनी सभासद बन्न पाएनन् ।
सोलिडारिटी फर डा.गोविन्द केसी अलायन्सका संयोजक डा.जीवन क्षेत्री माथेमा प्रतिवेदनको सिफारिशका आधारमा सरकारले शुल्क तोक्नुअघि मेडिकल कलेजहरूले बार्गेनिङ गरेर विद्यार्थीबाट करोडसम्म शुल्क असुल्ने गरेको र त्यसपछि पनि बढी शुल्क असुल्ने धन्दा नरोकिएको बताउँछन् । उनी भन्छन्, “कलेजहरूले राजनीतिक दलसँगको पहुँच र प्रभावका आडमा यस्तो धन्दा चलाइरहेका छन् ।” कलेज सञ्चालकले राजनीतिक दललाई च्यापेका कारण सरकार लाचार बनेको उनी बताउँछन् ।
गण्डकी मेडिकल कलेजका अध्यक्ष अर्याल भैरहवाको युनिभर्सल मेडिकल कलेजका समेत सञ्चालक हुन् । २०७२ सालमा युनिभर्सलका तत्कालीन प्रशासन प्रमुख ध्रुव पौडेलले एमबीबीएस तथा बीडीएस तहको प्रवेश परीक्षा सम्बन्धी मुद्दा मिलाउन पुनरावेदन अदालत पाटनका न्यायाधीशलाई आफैंले पैसा दिएको दाबी गरेका थिए ।
पौडेलले गण्डकी र युनिभर्सल मेडिकल कलेजको अनुगमनमा जाने नेपाल मेडिकल काउन्सिल र त्रिभुवन विश्वविद्यालयका तत्कालीन पदाधिकारीलाई खाममा राखेर रकम दिने गरेको समेत खुलासा गरेका थिए । उनले त्यसबेला एबीबीएस तथा एमडी तहमा चर्को शुल्क असुल्ने, प्रवेश परीक्षा र बोर्ड परीक्षामा सेटिङ मिलाएर विद्यार्थी पास गराउने गरेको बताएका थिए ।