सुरक्षाको उपाय अपनाउँदै चल्न थाले सार्वजनिक यातायात (तस्वीरहरु)
सार्वजनिक यातायात सञ्चालनका लागि सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार काठमाडौं उपत्यकामा भाडाका बसहरु चल्न थालेका छन्।
सरकारले स्वास्थ्य सुरक्षालाई ध्यान दिएर छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरे अनुसार उपत्यकामा महानगर यातायात, मयुर यातायात, सुन्दर यातायात लगायतले सेवा सञ्चालन गरेका हुन् ।
सरकारले यातायात व्यवसायीले सवारीसाधन दैनिक निस्संक्रमित गरेर मात्रै गुडाउनुपर्ने, चालक र सहचालकले मास्क, पञ्जा, भाइजर र स्यानिटाइजर प्रयोग अनिवार्य गर्नुपर्ने, गाडीमा समेत स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, एक पंक्तिको एउटा सिटमा एक जना मात्रै राख्नुपर्ने मापदण्ड तोकेको छ । यही मापदण्ड अवलम्बन गर्दै व्यवसायीहरुले बस सञ्चालनमा ल्याएका हुन् । बसमा यात्रा गर्ने यात्रुले अनिवार्य मास्कको प्रयोग गर्नुपर्नेछ।
कोरोनाभाइरसको संक्रमण जोखिमलाई ध्यानमा राख्दै कुल सिट क्षमताको ५० प्रतिशत यात्रु राखेर यातायात सञ्चालन गर्ने व्यवस्था गरिएका कारण सरकारले ५० प्रतिशत बढी भाडा लिने व्यवस्था गरेको छ।