नाई श्रमिकहरूको माग- बन्दाबन्दी अवधिभर मासिक रु. २५ हजार देऊ !
बन्दाबन्दी अवधिभर प्रत्येक नाई श्रमिकलाई प्रतिमहीना रु. २५ हजारका दरले रकम उपलब्ध गराउनुपर्ने लगायत माग गर्दै नेपाल ट्रेड यूनियनले आज काठमाडौंमा प्रदर्शन गरेको छ।
माइतीघर मण्डलमा कैंची, काँगियोसहित प्रदर्शनमा उत्रेका नाई श्रमिकहरूले बन्दाबन्दीका कारण व्यापार व्यवसाय बन्द गर्नुपरेकाले यो अवधिका लागि मासिक रकम दिनुपर्ने माग गरेका हुन्।
यूनियनले सम्पूर्ण श्रमिकहरुलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने, बन्दाबन्दी अवधिको ब्याङ्क ब्याज मिनाहा गर्नुपर्ने र पसल तथा कोठाभाडा पूर्ण रुपमा मिनाहा गर्नुपर्ने माग राखेको छ।
ट्रेड युनियनका अध्यक्ष गजेन्द्र ठाकुरले तत्काल देशभरिका सैलुन र पार्लर खोल्न दिनुपर्ने, नाई श्रमिकहरुलाई निःशुल्क पीपीई सेट उपलब्ध गराउनुपर्ने र ५० लाख बराबरको जीवन बीमाको व्यवस्था गर्नुपर्ने बताए।
सरकारले बन्दाबन्दीको समय बढाउँदै लगेपछि घर जान नपाएको र व्यवसाय सञ्चालन गर्न नसक्दा जीवन धान्न कठिन भएको उनले बताए । यूनियनले अघि सारेका मागहरु पूरा नगरे देशव्यापी रुपमा आन्दोलन गर्ने उनको भनाइ छ।