जुम्लामा देखियो सलह, बाली जोगाउन आगो बालेर थाल ठटाउँदै किसान
भारतको विभिन्न प्रान्त हुँदै नेपाल भित्रिएको सलहका झुण्ड जुम्लामा पनि देखिएको छ । सलह किराले पातारासी र गुठीचौर गाउँपालिका तथा चन्दननाथ नगरपालिकाको पूर्वी भेगतिर धान, आलु, मकै, सिमी र स्याउमा क्षति पुर्याउन थालेको छ।
सलह भित्रिएर बालीमा क्षति गर्न थालेपछि कृषि तथा खाद्य सुरक्षा समितिको बैठकले यसको रोकथाम तथा नियन्त्रण र प्रतिकार्य योजना बनाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा आकस्मिक बसेको बैठकले यस्तो निर्णय लिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । उनले भने, “बैठकमा सलहको विषयमा कृषि विज्ञसँगको राय, सल्लाह, सुझावसहित क्षति कम गर्ने तयारी भइरहेको छ।”
कृषि तथा खाद्य सुरक्षा समितिका संयोजक तथा कृषि कार्यालयका प्रमुख बालकराम देवकोटाले सलहको परिचयसहित यसले पुर्याउने क्षतिको विषयमा कृषिविज्ञले सरोकारवालालाई जानकारी दिइने बताए । बैठकमा सलह किरा डोल्पा हुँदै जुम्ला पुगेको जानकारी दिइयो । उनले फिल्डमा समेत अनुगमन गर्दा किसान आफैंले बाजा बजाउने, थाल ठटाउने र आगो बालेर भगाउने गरिरहेको जानकारी दिए। सलहबाट क्षति रोक्न यिनै उपाय उत्तम भएको विज्ञहरुले बताउने गरेका छन्।
स्याउ सुपरजोन जुम्लाका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीका अनुसार, जुम्लामा आएको सलह लाखौं नभई हजारौंको सङ्ख्यामा छ । रातभरि केही नगर्ने र बिहान घाम लाग्ने बित्तिकै बाली खोज्दै जाने यसको विशेषता रहेको उनले बताए।
जिल्ला कृषि विकास कार्यालयमा सलहको सूचना आदानप्रदान गर्न सूचना केन्द्र स्थापना गरिने भएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । सलहको क्षतिबाट बच्न सञ्चारमाध्यममा सूचना प्रकाशन तथा प्रसारण गरिने, विषयगत कार्यालयले योजना बनाउने बताइएको छ । विशेषज्ञको सल्लाह अनुसार नै स्थानीय सुहाउँदो विधि पद्धति अनुसार रोकथाम जनचेतनाका काम गर्नुपर्ने निर्णय गरिएको छ।
प्रजिअ थापाले सलहबाट बाली जोगाउन एकातिर नागरिक र अर्कोतिर सरोकार निकाय समयमै सचेत हुन आग्रह गरे । यसका साथै स्थानीय तहलाई बढी जिम्मेवारी बनाउन आवश्यक रहेको छ।
पातारासी गाउँपालिकामा सलहले मकै, गहुँ र आलु बारीमा क्षति पुर्याउन थालेपछि गाउँपालिकाले सलह मारेर ल्याउनेलाई प्रतिकिलो रु. २०० उपलब्ध गराउने निर्णय गरेको छ।
जुम्ला अर्गानिक जिल्ला घोषित भएकोले रासायनिक विषादी प्रयोग गर्ने गरिएको छैन । सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत खाएर नष्ट पारिदिन्छ । जेठदेखि असोजसम्म बढी प्रकोप हुने सलह एकै दिनमा १५० किलोमिटरभन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति पुर्याउन सक्ने विज्ञ बताउँछन्।