थप सलह नेपाल प्रवेश गर्ने सम्भावना कायमै, प्रदेश ५ र प्रदेश २ उच्च जोखिममा
प्रदेश नम्बर ५ को दाङदेखि नवलपुरबीचको भूभागबाट थप सलह नेपाल प्रवेश गर्ने सम्भावना बढी देखिएको छ । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार भारतको सीमावर्ती क्षेत्रमा छरिएर रहेका सलहका थप केही झुण्डहरू दाङदेखि नवलपुरसम्मको क्षेत्रबाट दक्षिण पश्चिमी वायुको सहारामा नेपालमा प्रवेश गर्ने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार सुदूरपश्चिम प्रदेश र प्रदेश ५ मा हावाको चाप दक्षिण पश्चिमी र अन्य भागमा दक्षिण पूर्वी छ।
महाशाखाका अनुसार मंगलबार सुदूर पश्चिममा दक्षिण पूर्वी वायु र अन्य स्थानमा पूर्वी वायुको प्रभाव रहने र ३१ असारदेखि दक्षिण पूर्वी तथा पूर्वी वायुको प्रभाव रहने अनुमान गरिएको छ।
प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार सलहको झुण्ड दक्षिण पश्चिमी वायुको सहारामा नेपालमा प्रवेश गर्ने सम्भावना बढी हुन्छ।
आइतबार दाङ जिल्लाबाट प्रवेश गरेको सलहको झुण्ड साँझ प्युठान जिल्लाको माण्डवी, झिमरुक, प्युठान र स्वर्गद्वारी नगरपालिकाको आसपासका क्षेत्रमा देखिएको थियो।
सोमबार बिहानदेखि ती झुण्डहरू आकाशमा घुमिरहेको पाइएपनि बालीनालीमा ठूलो क्षति नगरेको केन्द्रले जनाएको छ । आइतबार दाङ जिल्लाका साथै नपलपरासी जिल्लाको त्रिवेणी गाउँपालिकाको भारत तर्फको सीमावर्ती क्षेत्रबाट पनि एउटा झुण्ड नेपाल प्रवेश गरेको थियो।
जंगलमा बसेको उक्त झुण्ड धानखेतमा आउने जाने गरेको छ।
गत १३ असारदेखि १६ असारसम्म प्रवेश गरेका सलहहरूमध्ये छरिएर रहेका सलहका केही झुण्डहरू अहिले पनि बाग्लुङ, म्याग्दी, रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट लगायतका जिल्लाहरूमा देखिएको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकृत रामकृष्ण सुवेदीले जानकारी दिए।
त्यसैगरी भारतको लखनऊको आसपासमा रहेको सलहको झुण्डबाट टुक्रिएर आएका केही सलहहरू पर्सा,धनुषा, महोत्तरी तथा सर्लाही र आसपासका क्षेत्रबाट नेपालभित्र प्रवेश गर्न सक्ने सम्भावना रहेकोले निरन्तर निगरानी गरी आवश्यक सावधानी तथा पूर्वतयारी गर्न समेत केन्द्रले अनुरोध गरेको छ।