के नेकपा फुटबाट जोगिएकै हो ?
पार्टीभित्र चर्को दबाबमा परेका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सार्वजनिक अभिव्यक्ति मार्फत विभाजनको खतरा टरेको संकेत त दिएका छन्, तर आ–आफ्नो अडानबाट टसमस नभएको सन्देश दिन पनि छुटाएका छैनन्।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एक दिनको फरकमा दिएका छुट्टा–छुट्टै सार्वजनिक अभिव्यक्ति मार्फत पार्टी विभाजनको खतरा टरेको संकेत गरेका छन्।
२६ असारमा देशवासीका नाममा गरेको सम्बोधन मार्फत नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले पार्टीभित्र देखिने विवाद नियमित प्रक्रिया भएको बताए र यस्तो वला धैर्य र संयमताको खाँचो समेत औंल्याए। एक दिनको फरक पार्दै १६ असारदेखि लगातार चार पटक स्थगित भइसकेको स्थायी समिति बैठक पाँचौंपटक एक साताका लागि रोकिएकै साँझको कुरा थियो ।
प्रधानमन्त्री ओलीले यस्तो बताएको भोलिपल्ट गृह जिल्ला चितवन पुगेर दाहालले पनि आफू धीर भएकै कारण पार्टी विभाजन हुनबाट रोकिएको बताए। त्यति मात्र होइन, दुवै अध्यक्षलाई विवादका लागि उक्साउन केही नेताहरू नै सक्रिय हुने गरेको समेत बताए, दाहालले। अनि पार्टी एकता जोगाउन एक अध्यक्षको हैसियतले लागिपर्ने प्रतिबद्धता नै जनाए।
के फुटको सँघारमा पुगिसकेको भनिएको नेकपामा फुटतर्फ डोर्याएका समस्या सुल्झिन थालेका हुन्? या दुवै अध्यक्षका पछिल्ला अभिव्यक्ति संयोग मात्र हुन्?
“पार्टीभित्रको समस्या समाधानतर्फ अघि बढेकै कारण उहाँहरुको यस्तो अभिव्यक्ति आएको हो। संभवतः पार्टी विभाजनको खतरा टरेको छ।”
– मणि थापा, स्थायी कमिटी सदस्य, नेकपा
नेकपा स्थायी कमिटी सदस्य मणि थापा यो संयोग मात्रै नभएको बताउँछन्। नेकपामा दाहालनिकट रहेका थापा भन्छन्, “पार्टीभित्रको समस्या समाधानतर्फ अघि बढेकै कारण उहाँहरुको यस्तो अभिव्यक्ति आएको हो। संभवतः पार्टी विभाजनको खतरा टरेको छ।” सहमतिको ठोस प्रस्ताव तयार नभए पनि विभाजन रोक्नेमा भने सहमति भइसकेको थापाको दाबी छ।
२७ असारमा चितवनकाे एक कार्यक्रममा दाहाल।
गएको ८ वैशाखमा प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाभित्रको शक्तिसंघर्ष उत्कर्षमा पुगेको थियो। त्यसवेला पनि नेकपा विभाजनकै सँघारमा पुगेको चर्चा चलेको थियो। त्यसवेला सार्वजनिक रुपमा मुख नखोलेका दाहालले यसपटक चितवन पुगेर ‘बिचौलिया भूमिकामा रहनेहरुको भविष्यसमेत सुरक्षित नहुने’ चेतावनीसमेत दिन भ्याए।
स्थायी कमिटीका अर्का सदस्य छविलाल विश्वकर्मा पनि परिस्थिति सकारात्मक दिशातर्फ मोडिएको बताउँछन्। विश्वकर्मा नेकपाभित्र प्रधानमन्त्री ओलीनिकट मानिन्छन्। नेकपाभित्र अहिले देखिएको बहस बेमौसमी भएको बताउने विश्वकर्मा भन्छन्, “स्थायित्व र स्थिरता जनचाहना हो, अनि पार्टी एकीकरण टुंग्याउनु नेताहरुको कार्यभार हो। त्यसैले मिलेर जानुको विकल्प छैन।”
प्रदेश–५ का मुख्यमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले त प्रधानमन्त्रीको सम्बोधन आउनुअघि नै दुर्घटनाबाट पार्टी जोगिएको दाबी गरेका थिए। काठमाडौंमा बसेर प्रधानमन्त्रीका निम्ति अर्थपूर्ण भूमिका खेलेका पोखरेलले प्रदेश मुकाम बुटवल फर्केपछि सामाजिक सञ्जालमा दुर्घटनाबाट पार्टी जोगिएको सन्देश मात्र दिएनन्, विभाजन रोकेर संवादको वातावरण बनाउन पहल गर्नेहरुलाई धन्यवादसमेत दिए।
ओली–दाहालनिकट नेताहरू नेकपा विभाजनको खतराबाट जोगिएको भन्दै ढुक्क देखिइरहँदा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने मुख खोलेको छैन। नेपालनिकट स्थायी कमिटीका एक सदस्य ओली–दाहालको सार्वजनिक अभिव्यक्तिलाई नै परिस्थितिको आधार मान्न नसकिने बताउँछन्। उनी भन्छन्, “दुवै जनाले खतरा टरेको त बताउनुभएको छ, सँगै चेतावनी दिन पनि छुटाउनुभएको छैन।” ओली–दाहालको अभिव्यक्तिले पार्टीभित्रको संकट टरिसकेको भन्ने निष्कर्ष निकाल्नु हतारो हुने उनको भनाइ छ।
“दुवै जनाले खतरा टरेको त बताउनुभएको छ, सँगै चेतावनी दिन पनि छुटाउनुभएको छैन।”
हुन पनि ओली र दाहाल दुवैको अभिव्यक्तिमा अडान यथावत देखिन्छ। तीन दिनका लागि चितवन गएका दाहालले २८ असारमा आफूमाथि ओली समूहले लगाएको आरोपको कडा भाषामा प्रतिवाद गरेका छन्। “हामीमध्ये कोही राष्ट्रवादी, कोही राष्ट्रघाती भन्ने होइन। सबै मिलेर राष्ट्रका लागि काम गरेका हौं, कोही एक्लैले गरेको होइन”, दाहालको भनाइ थियो।
भारतीय इशारामा पार्टीको स्थायी कमिटीमा आफ्नो राजीनामा मागिएको भन्ने प्रधानमन्त्री ओलीको सार्वजनिक अभिव्यक्तिपछि नेकपाभित्रको पछिल्लो संकट चुलिएको थियो। चितवन पुगेर पनि त्यसको प्रतिवाद गरेका दाहालले आफ्नो अडान कायमै रहेको सन्देश दिनेगरी विधि र पद्धतिमा चलेकै कारण चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) विभाजन हुनबाट रोकिएको उदाहरणसमेत पेश गरे।
प्रधानमन्त्री ओलीले पनि आफ्नो सम्बोधनमा पार्टीभित्र देखिएको विवादले सरकारलाई कुनै असर नपर्ने सन्देश दिएका छन्। सम्बोधनमा यस्तो उल्लेख गरे पनि स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र अध्यक्ष पदबाट राजीनामा मागिएपछि ओलीले हठात् संसद अधिवेशन मात्रै अन्त्य गरेनन्, मन्त्रीहरुलाई बोलाएर कित्ता प्रष्ट पार्न समेत भनेका थिए।
वरिष्ठ नेता नेपालनिकट अर्का स्थायी कमिटी सदस्य पनि दुवै अध्यक्षले रणनीतिक रूपमा अभिव्यक्ति दिएको हुनसक्ने आशंका गर्छन्। उनी भन्छन्, “भेटवार्ता हुन नसक्ने तर, एकाएक सार्वजनिक अभिव्यक्ति आउनुमा आशंका हुने नै भयो।”
ती नेताले भने झैं १० असारदेखि दिनहुँजसो भेटवार्ता गरिरहेका ओली–दाहालबीच २४ असारदेखि भने भेट भएको छैन। २६ असारसम्म भेट नभएपछि र बैठक पनि स्थगित गरिएपछि दाहाल चितवनतिर लागेका थिए।
चर्को दबाब थेग्न नसक्दा
स्थायी कमिटी सदस्य थापा आन्तरिक र बाह्य दुवै परिस्थितिका कारण दुवै अध्यक्ष सहमतिका लागि सम्वादमा बस्न राजी भएको बताउँछन्। नेकपाभित्रको विवाद उत्कर्षमा पुग्दा नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीको सक्रियतालाई तीब्र चर्चा भएको थियो। कतिपयले चिनियाँ सक्रियताकै कारण नेकपा फुटबाट जोगिएको चर्चा पनि गरिरहेका छन्। स्थायी कमिटी सदस्य थापाले बाह्य परिस्थितिबारे थप बोल्न नचाहे पनि नेकपामा आन्तरिक कारण नै प्रभावी बनेको र कार्यकर्ता पंक्तिबाट एकताका लागि आएको दबाबले नै दुई अध्यक्षलाई एक ठाउँ बसाएको बताए।
२१ असारमा प्रदेश-१ नेकपाकाे भेला। भेलाबाट १४ वटै जिल्ला अध्यक्ष र सचिवले हस्ताक्षर गरी एकताका लागि दबाव दिएका थिए।
थापा जस्तै अर्का नेता विश्वकर्मा पनि कार्यकर्ता पंक्तिको दबाब महत्वपूर्ण रहेको दाबी गर्छन्। उनी भन्छन्, “हामीलाई एकताबद्ध कम्युनिष्ट पार्टी र स्थिर सरकारका लागि जनमत प्राप्त भएको हो। त्यस विपरीत नेताहरु जान संभव थिएन, छैन।”
पार्टीलाई विभाजनबाट रोक्ने अभियानमै सक्रिय भएका केन्द्रीय सदस्य एवम् ओखलढुङ्गाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवार स्थानीय कार्यकर्ता एकीकृत पार्टीको पक्षमा रहेको बताउँछन्। उनी भन्छन्, “यसअघि पार्टी विभाजन हुँदा जस्तो अवस्था अहिले छैन। पहिले माथि नेताहरु फुटेपछि तल पनि फुट्थ्यो, अहिले त्यसविरुद्ध अभियान नै चलेको छ।”
नेकपाका प्रदेश–१ का सबै जिल्लाका अध्यक्ष र सचिवहरुले २१ असारमा संयुक्त वक्तव्य नै जारी गरे। १४ वटै जिल्लाका अध्यक्ष र सचिवहरुले हस्ताक्षर गरेको वक्तव्यमा विभाजनको पक्षमा नलाग्ने उल्लेख गर्दै एकताबद्ध हुन नेताहरुलाई सचेत गराइएको थियो।
त्यसको भोलिपल्ट सुदूरपश्चिम प्रदेशका नेकपाबाट निर्वाचित सबै (३७ जना) प्रदेश सभा सदस्यहरुले संयुक्त वक्तव्य मार्फत विभाजनको पक्षमा नउभिने प्रष्ट पारिदिए। “अरु, प्रदेशहरुले पनि यस्तै तयारी गरेका थिए। तर, अहिले रोकिएको छ”, केन्द्रीय सदस्य सुनुवार भन्छन्।
प्रदेश–१ का जिल्ला नेता र सुदूरपश्चिमका सांसदहरु जस्तै केन्द्रीय सदस्यहरुले पनि विभाजनको विपक्षमा भेलासमेत आयोजना गरे। यज्ञराज सुनुवार, पार्वत गुरुङ, गणेश पहाडी लगायत केन्द्रीय नेताहरुले एकताका लागि दबाब अभियान चलाए भने ठाकुर गैरे, सत्या पहाडी, लेखनाथ न्यौपाने, हिमाल शर्मा, रामकुमारी झाँक्री लगायतले एकताको पक्षमा धर्ना नै दिए।
नेकपा विभाजनकै तहमा पुगेपछि मन्त्रीहरुलाई कित्ता प्रष्ट पार्न भनेका प्रधानमन्त्री ओली र दुवै पद नछाडे कारबाहीकै चरणमा उत्रने चेतावनी दिने अर्को समूहका शीर्ष नेतालाई दोस्रो तहका नेताहरुको अभियानले पनि दबाब बढाउने काम गर्यो। “जिल्ला, प्रदेश र केन्द्रीय सदस्यहरुको खबरदारी त छँदैछ, भावी नेतृत्वकै रुपमा हेरिएका नेताहरुको गठबन्धनले पनि दुई अध्यक्षमा मनोवैज्ञानिक हस्तक्षेप गर्यो”, स्थायी कमिटीका एक सदस्य भन्छन्।
नेकपामा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमसमेत दाहालको पक्षमा उभिएपछि केन्द्रीय सचिवालय र स्थायी कमिटी दुवैमा प्रधानमन्त्री ओली प्रष्टसँग अल्पमतमा परेका छन्। तर, उनीनिकट नेताहरुले भने महाधिवेशनसम्म संख्या नभइ सहमतिको आधारमा पार्टी चल्नुपर्ने तर्क गर्दै आएका छन्।
पछिल्लोपटक २५ असारमा सिंहदरबारमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालको संयोजनमा भएको ११ जना नेताको भेलाले आवश्यक परे नेतृत्वमाथि हस्तक्षेपकै चरणमा उत्रने निष्कर्ष निकालेको थियो। भेलामा त्यसअगाडि मन्त्री भुसालकै निवास, पुल्चोकमा पनि एकताका लागि आवश्यक दबाब दिन तीनै समूहका नेताहरुको भेला बसेको थियो।
एकताका लागि दबाब दिन केन्द्रीय कार्यालय धुम्बाराहीमा धर्ना।
नेकपामा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमसमेत दाहालको पक्षमा उभिएपछि केन्द्रीय सचिवालय र स्थायी कमिटी दुवैमा प्रधानमन्त्री ओली प्रष्टसँग अल्पमतमा परेका छन्। तर, उनीनिकट नेताहरुले भने महाधिवेशनसम्म संख्या नभइ सहमतिको आधारमा पार्टी चल्नुपर्ने तर्क गर्दै आएका छन्। देशभर बाढी, पहिरो र डुवानको प्रकोप शुरु भएकाले एक साताका लागि स्थगित स्थायी कमिटी बैठक २ साउनमा बोलाइएको छ। ओली र दाहालका पछिल्ला अभिव्यक्ति नेकपामा उत्पन्न संकट समाधानतर्फका संकेत हुन् या संयोग मात्र भन्ने चाहिं सम्भवतः त्यतिञ्जेलसम्म खुल्दै जानेछ।