सर्वसाधारणका लागि पाँच अर्बभन्दा बढीको साधारण शेयर बजारमा आउँदै
बन्दाबन्दीका कारण अर्थतन्त्र शिथिल भएको वेला डेढ दर्जन कम्पनीले साधारण शेयर जारी गर्ने तयारी गरेका छन् । यी कम्पनीहरुले करीब रु. ५ अर्ब २५ करोड बराबरका साधारण शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्।
बीमाका तीन कम्पनी जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई शेयर बिक्री गर्ने तयारी गरेका छन् । जनरल इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई रु. ३० करोड बराबरको ३० लाख कित्ता शेयर बिक्री गर्न ५ असारमा बोर्डसँग अनुमति मागेको छ । त्यस्तै, सानिमा जनरल इन्स्योरेन्सले पनि सर्वसाधारणलाई रु. ३० करोडको ३० लाख कित्ता साधारण शेयर बिक्री गर्न १४ असारमा बोर्डमा आवेदन दिएको छ । यी दुवै आवेदनमाथि बोर्डले प्रारम्भिक मूल्यांकन गरिरहेको छ।
त्यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्सले पनि रु. ६३ करोड मूल्यका ६३ लाख कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ । बोर्डले कम्पनीलाई साधारण शेयर जारी गर्ने विषयमा आफ्नो प्रतिक्रिया पठाएको छ।
जलविद्युतका १० कम्पनीले पनि सर्वसाधारणलाई रु. १०० मूल्यका साधारण शेयर जारी गर्दैछन् । मध्य भोटेकोशी जलविद्युत् आयोजनाले स्थानीयवासी र सर्वसाधारणका लागि रु. १ अर्ब ५० करोड मूल्यको १ करोड ५० लाख कित्ता साधारण शेयर जारी गर्न बोर्डसँग अनुमति मागेको छ । त्यसैगरी, माउन्टेन इनर्जी नेपालले पनि रु. ३९ करोड ३६ लाख मूल्यको ३९ लाख ३६ हजार कित्ता साधारण शेयर जारी गर्न स्वीकृति माग्दै बोर्डमा आवेदन दिएको छ।
हिमालयन हाइड्रोपावर, बिन्धबासिनी जलविद्युत्, रुरु जलविद्युत्, शुभम पावर, सीईडीबी हाइड्रोपावर, तेह्रथुम पावर कम्पनी, मैलुङखोला जलविद्युत्, ग्रिनलाइफ हाइड्रोपावर र सिंगटी हाइड्रो इनर्जीले पनि स्थानीयवासी र सर्वसाधारणलाई साधारण शेयर बिक्रीको अनुमति माग्दै बोर्डमा आवेदन दिएका छन्।
चन्द्रागिरिमा केबुलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्स लिमिटेडले पनि रु. १८ करोड ४० लाख मूल्यका १८ लाख ४० हजार कित्ता साधारण शेयर स्थानीयवासी र सर्वसाधारणका लागि जारी गर्दैछ । त्यसैगरी, इमर्जिङ नेपाल नामक कम्पनीले पनि रु. ५ करोड मूल्यका ५ लाख कित्ता साधारण शेयर जारी गर्ने तयारी गरेको छ । नेपालमा पूर्वाधार विकासका लागि लगानी जुटाउन यो कम्पनी स्थापना गरिएको बताइन्छ।
बोर्डले चालु आर्थिक वर्ष २०७६/७७ मा ९ कम्पनीका रु. ३ अर्ब ९९ करोड मूल्यका ३ करोड ९९ लाख कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको थियो । अनुमति दिएका अधिकांश कम्पनीको साधारण शेयर बिक्री भएर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत समेत भइसकेको छ।