गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत नियुक्तिमा रमिता : एकै दिन दुई निर्णय
- अच्युतराज भण्डारी, मुगु
मुगुको सोरु गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैदिन दुई जनालाई जिम्मेवारी तोकेपछि गाउँपालिकामा तरंग पैदा भएको छ।
मन्त्रालयले हिजो निर्णय गर्दै जिल्ला समन्वय समिति, मुगुमा कार्यरत नायब सुब्बा भीमराज सेजुवाललाई अर्को व्यवस्था नभएसम्मका लागि गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो । तर, यसको पाँच घण्टाभित्रै मन्त्रालयले यही पदमा सोही गाउँपालिकामा कार्यरत विद्यालय निरीक्षक वीरेन्द्र मल्ललाई जिम्मेवारी तोकेको पत्र पठाएको छ।
यसअघि निमित्त प्रमुख प्रशासकीय अधिकृत पदमा रहेका धान्ने बुढाले आर्थिक हिनामिना गरेको भन्दै गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्दै गाउँसभा संचालनका लागि व्यवस्था गर्न माग गर्दै मन्त्रालयमा पत्र पठाएका थिए । यसपछि मन्त्रालयले जिससका निमित्त समन्वय अधिकारी सेजुवाललाई थप जिम्मेवारी सुम्पिएको थियो।
एक जना व्यक्तिलाई जिम्मेवारी तोकिसकेको अवस्थामा सत्ता र शक्तिको पहुँचका आधारमा प्रमुख अर्को व्यक्तिको नाम सिफारिश गरेको भन्दै गाउँपालिका अध्यक्ष शाहीले असुन्तुष्टि प्रकट गरेका छन् ।
पहिले नियुक्त गरिएका सेजुवाल नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी यूनियन (संघ) का सदस्य रहेको थाहा पाएपछि मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृतमा उनको नियुक्ति बदर गर्दै सत्तारुढ नेकपा समर्थक मल्ललाई जिम्मेवारी तोकेको स्रोत बताउँछ । स्रोतका अनुसार, सेजुवाललाई मन्त्रालयले सिफारिश गरेको थाहा पाएपछि नेकपाका जिल्ला स्तरका नेताहरुले उक्त निर्णय बदर गर्न केन्द्रमा दबाब दिएपछि मल्ललाई जिम्मेवारी दिइएको हो।
मल्ल गाउँपालिकाको शिक्षा शाखामा अधिकृत तह छैटौंमा कार्यरत हुन् । गाउँपालिकामा उनीभन्दा ज्येष्ठ कर्मचारी पालिकामा भए पनि मन्त्रालयले निजामती सेवा ऐनको विपरीत कनिष्ठ व्यक्तिलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतमा सिफारिश गर्नुले संशय पैदा गरेको छ । अर्कोतर्फ, शिक्षा शाखा प्रमुख मल्ल विद्यालय निरीक्षकमा शिक्षा सेवा आयोगबाट सिफारिश भए पनि परीक्षण काल नै पूरा नभएको गाउँपालिका स्रोत बताउँछ।