तनहुँमा छुट्टाछुट्टै पहिरोमा पुरिएर दुईको मृत्यु, एकै परिवारका पाँच बेपत्ता
अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ। ऋषिङ गाउँपालिकामा एकै परिवारका पाँच जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा माथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृत्यु भएको छ। घरको भित्ताले पुरिएर घाइते विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।
यसैगरी व्यास नगरपालिका–७ कलेस्तीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ। उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
त्यस्तै ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा घर पुरिँदा एकै परिवारका पाँच जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ३० वर्षीय भेषबहादुर थापा, २९ वर्षीय नानुमाया थापा, पाँच वर्षीया अमिषा थापा, २२ वर्षीय महादेव थापा र १९ वर्षीया मनिसरा थापा रहेको प्रहरीले जनाएको छ। सोही ठाउँकी ६० वर्षीया ज्योतिमाया थापालाई उपचारका लागि भीमाद ल्याइएको छ।