बोतल समात्न खोज्दा चमेलियामा बगेका बालक भारतमा मृत भेटिए
चमेलिया नदीमा बगेर हिजो २८ असारमा बेपत्ता भएका एक बालकको शव भारतको झुलाघाटमा भेटिएको छ।
बैतडीको डिलाशैनी गाउँपालिका–६ चौसेराका ९ वर्षीय रुपेश नाथ भारतमा मृत भेटिएका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनी डिलाशैनी–६ डडियास्थित चमेलिया नदीमा आइतबार दिउँसो २ बजे बगेका थिए।
उनको शव आइतबार नै बेलुका ७ बजे महाकाली नदीपारि भारतको झुलाघाटमा भेटिएको हो। उनी बाख्रा चराउन चमेलिया किनार गएका थिए।
नदीमा बगेर आएको बोतल समात्न खोज्दा उनलाई नदीले बगाएको गोकुलेश्वर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मनोजसिंह साउदले जानकारी दिए। बालकको शव परीक्षण भारतमै गरिने प्रहरीको भनाइ छ।
झुलाघाट नाका बन्द भए पनि उनको शव नेपाल ल्याउन प्रक्रिया थालिसकेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए। उनका अनुसार शव आजै नेपाल ल्याइने छ।
“भारततर्फको स्थानीय प्रशासन र प्रहरीसँग समन्वय भएको छ, बालकका दुई आफन्तलाई पारि पठाउन भनेको र सोमबार शव ल्याउन नाका खोल्ने सहमति भएको छ”, उनले भने।