कोरोनाभाइरसबाट एकैदिन दुई लाख ३० हजारभन्दा बढी संक्रमित, दैनिक मृत्युदर भने घट्दै
विश्वभर एकैदिन १२ जुलाईमा अहिलेसम्मकै बढी दुई लाख ३० हजार कोरोनाभाइरस संक्रमित भेटिएका छन्। दैनिक संक्रमितको संख्या बढे पनि मृत्युदर भने घटेको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई उधृत गर्दै अल जजिराले जनाए अनुसार पछिल्लो २४ घन्टामा सबैभन्दा बढी संक्रमित अमेरिकामा भेटिएका छन्। त्यसपछि भारत, ब्राजिल र दक्षिण अफ्रिकामा भेटिएका छन्।
पछिल्लो २४ घन्टामा अमेरिकामा ६६ हजार ५०० भन्दा बढी संक्रमित भेटिएका छन्। त्यसैगरी भारतमा २९ हजार, ब्राजिलमा २५ हजार र दक्षिण अफ्रिकामा १३ हजार ५०० भन्दा बढी संक्रमित भेटिएका छन्।
यो अवधिमा सबैभन्दा बढी ब्राजिलमा ६५९ जनाको मृत्यु भएको छ। भारतमा ५०० र अमेरिकामा ३५८ जनाको मृत्यु भएको छ।
विश्वभर कोरोनाभाइरसबाट संक्रमितको संख्या बढिरहेको छ। गत ७ जुलाईदेखि दैनिक संक्रमितको संख्या दुई लाखमाथि छ। तर, दैनिक मृत्युदर भने घटिरहेको छ।
११ जुलाईमा पाँच हजार १५ जनाको मृत्यु भयो। यो हप्ताको यो सबैभन्दा कम दैनिक मृत्युदर हो। यो हप्ताभरि हरेक दिन मृतकको संख्या पाँच हजारदेखि पाँचहजार ५०० को आसपासमा रह्यो।
जबकि १७ अप्रिलमा एकैदिन सबैभन्दा बढी आठ हजार ४८५ जनाको मृत्यु भएको थियो। त्यसयता दैनिक मृत्युदर उतार चढाव भए पनि निरन्तर घटिरहेको छ। तर, छिमेकी देश भारतमा भने मृत्युदर स्थीर छ।