अग्रता जोगाउन नसक्दा लिस्टर सिटीले चेल्सी पछि पार्ने अवसर गुमायो
इंग्लिस प्रिमियर लिग सनसनीपूर्ण प्रदर्शन गरिरहेको लिस्टर सिटी आइतबार राति भने नराम्रोगरी पराजित भएको छ। बोर्नेमाउथ विरुद्ध पहिलो हाफको शुरुमै अग्रता बनाएको लिस्टर सिटी दोस्रो हाफमा दश खेलाडीमा सीमित हुन पुग्यो।
खेलको २३औं मिनेटमा गोल गर्दै लिस्टरले अग्रता बनाएको थियो। पहिलो हाफभर यो अग्रता कायमै रह्यो। तर, लिस्टरका खेलाडीले फउल गर्न पुगेपछि बोर्नेमाउथले पेनाल्टीको अवसर पायो। ६६औं मिनेटमा पेनाल्टीको अवसर पाएको बोर्नेमाउथका लागि जुनियर स्टानिस्लासले गोल गर्दै खेल बराबरीमा ल्याए।
यसको एक मिनेट नबित्दै लिस्टरका कग्लर सोयुन्कूले रातो कार्ड पाएपछि दश खेलाडीमा सीमित हुन पुग्यो। यसको फाइदा फाउँदै मोडिनिकले बोर्नेमाउथका लागि दोस्रो गोल गर्दै लिस्टर विरुद्ध अग्रता निकाल्यो।
८३औं मिनेटमा लिस्टरले आत्मघाती गोल गर्न पुग्यो। लिस्टरले गरेको भयंकर ठूलो कमजोरी फाइदा उठाउँदै बोर्नेमाउथले तीन–एकको अग्रता बनायो। अन्तिम तीन मिनेटको खेल चलिरहँदा फेरि बोर्नेमाउथका लागि डोनिमिकले गोल गर्दै शानदार जित निकाल्यो।
यता, अग्रता जोगाउन नसक्दा लिस्टर सिटीले भने राम्रो अवसर गुमाएको छ। ३४ खेलबाट ५९ अंक जोडेको लिस्टरले तेस्रो स्थानमा रहेको चेल्सीलाई पछाडि पार्ने राम्रो अवसर थियो । तर, पराजित हुँदै लिस्टर चौथों स्थानमै कायम रह्यो। समान खेलबाट चेल्सीले एक अंक बढी जोडेको छ। लिगको उपाधि भने लिभरपुलले जितिसकेको छ।