पेट्रोल र डिजेल खरीद गर्दा उपभोक्ताले पाँच वर्षमा तिरे रु. ६७ अर्ब पूर्वाधार कर
नेपाल आयल निगमले चालु आर्थिक वर्षमा करीब रु. २ खर्ब ४० अर्बको व्यापार गरेको छ । आर्थिक वर्ष सकिन केही दिन बाँकी हुँदा निगमले पत्रकार सम्मेलन गरेर चालु आर्थिक वर्षमा करीब रु. १० अर्ब ८६ करोड नाफा कमाउने अनुमान गरिएको बताएको छ।
निगमले सरकारलाई कर मात्रै करीब रु. ६५ अर्ब बुझाएको जनाएको छ । सबैभन्दा धेरै मूल्य अभिवृद्धि कर रु. २५ अर्ब ५२ करोड छ। सर्वसाधारण उपभोक्ताले पेट्रोलियम पदार्थको खरीदमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर बुझाउँछन् । सोही कर मात्रै रु. २५ अर्बभन्दा बढी उठेको हो।
निगमले पूर्वाधार विकासका लागि लगाइएको कर बापत रु. १३ अर्ब ६७ करोड सरकारलाई बुझाएको छ । प्रतिलिटर पेट्रोलियम पदार्थको खरीदमा सर्वसाधारण उपभोक्ताले रु. १० पूर्वाधार विकास कर तिर्छन्।
पछिल्लो पाँच वर्षमा मात्रै निगमले सर्वसाधारणसँग पूर्वाधार विकास करस्वरुप करीब रु. ६७ अर्ब उठाएको छ ।
२०७२ को भूकम्प लगत्तै सरकारले पेट्रोलियम पदार्थको खरीदमा पूर्वाधार कर लगाउन शुरु गरेको थियो । आर्थिक वर्ष २०७२\७३ मा पूर्वाधार विकास कर स्वरुप रु. १ अर्ब १६ करोड उठेको थियो ।
बूढीगण्डकीसहितका ठूला पूर्वाधार आयोजना निर्माणका लागि यो कर लगाइएको सरकारले बताउने गरेपनि यो रकम छुट्टै कोषमा राखिएको छैन । हरेक वर्ष उठाउँदै खर्च गरिंदै आइएको छ।
निगमले पेट्रोलियम पदार्थ खरीदका लागि भारतीय आयल निगमलाई करीब रु. १ खर्ब ४७ अर्ब भुक्तानी गरेको जनाएको छ।