होटल मजदूरले बन्द अवधिको तलब पाउने, कम्तीमा रु. ४३०० देखि १० हजारसम्म दिइने
कोरोनाभाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण बन्द रहेका दुईतारेदेखि पाँचतारेसम्मका होटल मजदूरलाई न्यूनतम तलब दिइने भएको छ।
मजदूरलाई रु.४३०० देखि १० हजारसम्म पारिश्रमिक दिने होटल संघ र सम्बन्धित मजदूर युनियनबीच सहमति भएको हो।
बन्दाबन्दीका कारण होटल व्यवसाय ठप्प भएपनि मजूदरलाई भने न्यूनतम पारिश्रमिक दिने सहमति भएको छ ।
आइतबार २८ असारमा होटल संघ नेपाल (हान) र सम्बन्धित होटल मजदूरबीच भएको सहमति अनुसार दुई सय कोठा भन्दा माथिका पाँचतारे डिलक्स होटलका मजदूरलाई मासिक रु.१० हजार र २ सय भन्दा कम कोठासंख्या भएका पाँचतारे होटलका मजदूरलाई रु.९ हजार मासिक पारिश्रमिक दिने सहमति भएको छ।
यस्तै १०० भन्दा बढी कोठा भएका चारतारे डिलक्स होटलका मजदूरलाई मासिक रु.८४५५ र चारतारे होटलका मजदूरलाई रु.८ हजार दिइने भएको छ । यस्तै, तीनतारे होटलका मजदूरलाई मासिक रु.५ हजार र दुईतारे होटलका मजदूरलाई भने मासिक रु.४३०० दिने सहमति भएको स्रोतले हिमालखबरलाई जानकारी दिएको छ । एकतारे र पर्यटक स्तरका मजदूरको हकमा भने होटल व्यवस्थापन र मजदूरले आपसी सहमतिमा पारिश्रमिक निर्धारण गर्ने उल्लेख छ।
होटल क्षेत्रका मजदूरलाई घर बसेको अवधिमा पनि पाइने यो पारिश्रमिक ६ महीनासम्म अर्थात आगामी १६ पुस २०७७ सम्मका लागि हो । सो अवधिमा होटल सञ्चालनमा आएको अवस्थामा वा मजदूरलाई काम लगाएको अवधिमा भने साविककै तलब सुविधा दिइने उल्लेख छ ।
महामारीका कारण होटल बन्द भएकाले बन्द अवधिमा मासिक २ दिन भने संचित बिदाबाट काट्ने पनि सहमति भएको छ।
यस्तै कुनै मजदूरले अवकास लिन चाहेको अवस्थामा भने होटलले आवश्यक सेवा सुविधा दिनुपर्ने शर्त पनि राखिएको छ । हान र अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदूर संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेस्टुराँ मजदूर युनियन र नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघबीच यस्तो सहमति भएको हो।
हान अध्यक्ष सिर्जना राणाले भने मजदूरसँग नयाँ सहमति भएपनि हस्ताक्षर गर्ने र अन्तिम रुप दिने काम बाँकी नै रहेको बताइन् । उनले मजदूरसँग भएको सहमति एक\दुई दिनमा पत्रकार सम्मेलन गरेरै सार्वजनिक गर्ने पनि बताइन्।
यसअघि हानले एकलौटी रुपमा २१ वैशाख २०७७ मा प्रत्येक महीना आधारभूत तलबको १२.५ प्रतिशतको दरले मात्र उपलब्ध गराउने निर्णय गरेको छ । सो निर्णयपछि मजदूर र हानबीच पटकपटक भएको वार्ता पनि आइतबार नयाँ सहमति भएको हो ।
यो सहमति पछि करीब ५ लाख होटल मजदूरले काम नगर्दा र घरमा बसेको अवस्थामा पनि राहतस्वरुप तलब पाउने भएका छन्। यो निर्णयले सम्पूर्ण होटल मजदूरको हित गर्ने उल्लेख छ।