अवैध मिर्गौला प्रत्यारोपणमा नक्कली भान्जा: यसरी संलग्न भए प्रहरी, कानून व्यवसायी, चिकित्सक र वडाअध्यक्ष
नेपाल प्रहरीको मानव बेचबिखन विरुद्धको ब्यूरोले नक्कली व्यक्ति खडा गरेर मृगौला प्रत्यारोपण गर्ने काममा चितवनको कलेज अफ मेडिकल साइन्सेज नै संलग्न भएको जनाएको छ ।
ब्यूरोद्धारा आइतबार जारी प्रेस विज्ञप्ती अनुसार तेस्रो व्यक्तिको मिर्गाैला झिकेर बेचबिखन गरेको आरोपमा १२ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भरतपुरको जिल्ला प्रशासन कार्यालयका प्रशासन अधिकृत रामचन्द्र ढकाल, कलेजका कानूनी सल्लाहकार रमेश काफ्ले, कलेजका प्रमुख सञ्चालक अधिकृत डा. सुप्रभात श्रेष्ठ, कलेजमा कार्यरत डा. बालकृष्ण कालाखेती, नोबेल अस्पतालका डा. राकेशकुमार बर्मा छन् ।
यस्तै पक्राउ पर्नेमा भक्तपुर निवासी जमुनाराज भण्डारी, काठमाडौंको टोखा बस्ने प्रहरी सहायक निरिक्षक भिमप्रसाद खनाल, झापा घर भएका निलम्बीत प्रहरी नायब निरिक्षक योगेन्द्रराज थपलिया, भक्तपुर निवासी रेश्मा राई, ललितपुर महानगरपालिका–३ का वडा अध्यक्ष गोपाल महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुरका तत्कालिन खरिदार नवराज केसी, जिल्ला प्रशासन कार्यालय ललितपुरका कार्यालय सहायक राजकुमार केसी रहेका छन् ।
उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार कानूनी कारवाही गरिने ब्यूरोले जनाएको छ ।
यस्तो छ प्रत्यारोपणको लहरो
प्रहरीका अनुसार मिर्गौला प्रत्यारोपणको यो घटनामा नक्कली कागजात खडा गरी विदेशमा रहेका व्यक्तिको विवरण प्रयोग गरी तेस्रो व्यक्तिको मिर्गौला प्रत्यारोपण भएको हो ।
भक्तपुर निवासी एक व्यक्तिले आफ्नो मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरे । प्रत्यारोपण सम्बन्धी कानून अनुसार उनीहरूले आफ्नो परिवार भित्रकै सदस्यबाट मिर्गौला प्रत्यारोपण गर्ने निर्णय लिए ।
उनीहरूले प्रत्यारोपण गर्न अस्ट्रेलियामा रहेका भान्जालाई राजी बनाए । तर तत्काल भान्जा रिजनबीर जोशी नेपाल आउन सम्भव भएन । त्यसपछि उनीहरू फर्जी कागजात बनाएर मिर्गौला प्रत्यारोपण गर्ने गिरोहको सम्पर्कमा पुगे । र, गिरोहले प्रत्यारोपण गर्ने गरी सबै व्यवस्था मिलाइदियो ।
२७ जेठ २०७६ मा उनको चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज(सिओएमएस)मार्फत सफल मिर्गौला प्रत्यारोपण भयो । मिर्गौला प्रत्यारोपण गर्दा भान्जा रिजवनबीर जोशीको नाम उल्लेख भएका कागजातहरू प्रयोग गरिएको थियो ।
तर २७ जेठ २०७६ यता उनका भान्जा जोशी अस्ट्रेलियामा नै छन् । ब्यूरोका प्रहरी उपरिक्षक प्रभु ढकालका अनुसार नक्कली भान्जा खडा गरेर मिर्गौला प्रत्यारोपण गर्ने काममा पाँच तहको संलग्नता छ ।
मिर्गौला प्रत्यारोपण गर्नका लागि नक्कली भान्जा खोज्ने गिरोह खोटाङ पुगेको थियो । उक्त गिरोहले खोटाङका एक व्यक्तिलाई प्रलोभनमा पारेर काठमाडौं ल्यायो ।
ब्यूरोका अनुसार त्यसरी नक्कली व्यक्ति खोज्ने काम चार जनाको गिरोहले गरिरहेको थियो । जसमा दुई जना प्रहरी अधिकारी छन् । काठमाडौंको टोखा बस्ने प्रहरी सहायक निरिक्षक भिमप्रसाद खनाल र झापा घर भएका निलम्बीत प्रहरी नायब निरिक्षक योगेन्द्रराज थपलियाले प्रत्यारोपण गर्न नक्कली भान्जा खोज्ने काम गरेका थिए ।
यी दुई जना प्रहरी अधिकारी आफै मिर्गौलाका बिरामी हुन् ।
अधिकांश मिर्गौला प्रत्यारोपणका लागि फर्जि व्यक्ति खोज्ने गिरोहमा मिर्गौला रोगका बिरामी संलग्न भएको देखिदै आएको छ । “खोटाङका ती व्यक्तिलाई पैसा दिलाइदिने लोभमा भान्जा बन्न लगाइयो,” प्रहरी उपरिक्षक ढकाल भन्छन् ।
प्रहरी अनुसन्धानले मिर्गौला लिने व्यक्तिका परिवारले खोटाङका ती अपरिचित व्यक्तिलाई ‘हाम्रै भान्जा हुन्’ भनेर सनाखत गर्ने काममा संलग्न भएको देखाएको छ ।
ती नक्कली भान्जा मिर्गौला लिने व्यक्तिका साच्चिकै भान्जा हुन् भनेर सनाखत पत्रलाई प्रमाणित गर्ने काम ललितपुर–३ को वडा कार्यालयले गरेको थियो ।
प्रहरिका अनुसार यो काममा वडा अध्यक्ष गोपाल महर्जन संलग्न छन् ।
नाता प्रमाणपत्रमा अस्ट्रेलियामा रहेका भान्जाको नभई खोटाङका ती व्यक्तिको फोटो टाँसिएको थियो ।
यहीँ प्रमाणपत्रलाई जिल्ला प्रशासन कार्यालय ललितपुरका खरिदार नवराज केसीले नागरिकता अनुसार मिल्छ भनेर प्रमाणित गरिदिएका थिए । यसबेलासम्म तीन वटा नक्कली प्रमाणपत्र बनिसकेका थिए ।
प्रत्यारोपण गर्नुपर्ने व्यक्ति भक्तपुरमा बस्दै आए पनि मिर्गौला प्रत्यारोपण गर्नका लागि भक्तपुर, काठमाडौ वा ललितपुरका अस्पताललाई रोजिएन ।
मिर्गौला प्रत्यारोपणका लागि चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज रोजियो ।
नक्कली भान्जा र मिर्गौला लिने व्यक्तिलाई सबै तयारीसहित त्यहाँ पुर्याइयो । अस्पतालले अंग प्रत्यारोपण स्वीकृति समितिको बैठक बोलायो ।
समितिको संयोजक अस्पतालका डा. बालाकृष्ण, सदस्यतामा अस्पतालका कार्यकारी निर्देशक, कानूनी सल्लाहकार रमेश काफ्ले र जिल्ला प्रशासन कार्यालय, चितवनका शाखा अधिकृत रामचन्द्र ढकाललाई राखियो ।
समितिको काम मिर्गौला प्रत्यारोपण गर्न बनाइएका कागजपत्र सहि भए वा नभएको चेकजाँच गर्नुपर्थ्यो ।
“तर यो घटनामा उनीहरूले कागजात सरसर्ती हेरेर स्वीकारेको देखिन्छ,” ब्यूरोका प्रहरी उपरिक्षक ढकाल भन्छन्, “समितिको स्वीकृतिपछि नै प्रत्यारोपणको काम भएको हो ।”
समितिको स्वीकृतिपछि सीओएमएसका चिकित्सक राकेश बर्मासहितको टोलीले प्रत्यारोपण गरेको थियो ।
ब्यूरोले कसरी चाल पायो ?
नेपाल प्रहरीको मानव बेचबिखन विरुद्धको ब्यूरोलाई ६ महिनाअघि सीओएमएसबाट गैर कानूनी रुपमा मिर्गौला प्रत्यारोपण भएको भन्दै बेनामी उजुरी पर्यो ।
त्यसपछि ब्यूरोले उजुरीमाथिको सत्यतथ्य छानबिन शुरु गरेको थियो ।
ब्यूरोको टोलीले उजुरीमा उल्लेख भएका सूचनालाई फ्लो गर्दै बेनामे उजुरीकर्ताका बारेमा पनि खोजबिन गर्दा उनी आफै ब्यूरोको काठमाडौंस्थित कार्यालयमा उपस्थित भए ।
नक्कली भान्जा बनेका उनी आफैले ब्यूरोमा उपस्थित भएर को को संलग्न भए भन्ने बारेमा बयान र जाहेरी दरर्खास्त दिएका थिए ।
प्रहरीले उनलाई अदालतमा उपस्थित गराएर बयान प्रमाणित समेत गरिसकेको छ ।
यसपछि ब्यूरोको टोलीले बयानमा उल्लेख भएका १२ जनालाई नियन्त्रण लिएर आइतबार अदालतमा उपस्थित गरायो । ब्यूरोले उनीहरूका विरुद्ध अनुसन्धान गर्न आदालतबाट ६ दिनको म्याद पाएको छ ।
प्रहरी उपरिक्षक ढकाल आफूहरूले यो घटनाबारे थप विस्तृत अनुसन्धान गरिरहेको र के कती रकम कारोबार भएको छ हेरिरहेको बताउँछन् ।
उनका अनुसार मानव बेचबिखन तथा ओसारपसार(नियन्त्रण) ऐन, २०६४ ले "नक्कली व्यक्ति खडा गरेर गैर कानूनी रुपमा मिर्गौला प्रत्यारोपणसम्बन्धी काम गर्नु नहुने" भनेको छ ।
“यो काममा चिकित्सकको पनि सलंग्नता देखिएकाले उनीहरूलाई अनुसन्धानको दायरामा ल्याइएको हो,” उनी भन्छन्, “उनीहरूको संलग्नता के कस्तो रुपमा छ भन्ने बारेको प्रतिवेदन अदालतमा बुझाएपछि अदालतले आवश्यक निर्णय लिनेछ ।”
मानव शरिर अंग प्रत्यारोपण ऐनमा कुनै व्यक्तिलाई मिर्गौला प्रत्यारोपण गर्न पर्यो भने परिवारको स्वीकृतिमा परिवारका सदस्य वा नाताभित्रबाट मात्र लिन पाइने व्यवस्था छ ।