नेपालमा फेरि सलह भित्रिने सम्भावना
भारतको विहार र उत्तरप्रदेशमा रहेका सलहका झुण्ड हावाको चापसँगै नेपाल प्रवेश गर्ने सम्भावना बढेको छ । सलहको झुण्ड प्रदेश-२ को सर्लाही तथा धनुषा, प्रदेश-५ र सूदूरपश्चिमबाट आज र भोलि नेपाल प्रवेश गर्न सक्ने प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले अनुमान गरेको छ।
केन्द्रका प्रमुख सहदेव हुमागाईंले हिमालखबरसँग भने, "सलहको झुण्ड भारतको कानपुर, वाराणसी, मुजफ्फरनजिक देखिएका छन् । हावाको चाप दक्षिणबाट उत्तरतर्फ बहिरहँदा ती सलह आज र भोलि नेपाल भित्रिन सक्ने जोखिम छ।"
भोलिसम्म सलह नेपाल नभित्रिए तत्कालका लागि आउने सम्भावना नरहेको पनि उनले बताए । २९ असारपछि हावाको चाप दक्षिण-पश्चिम बहने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाको अनुमान छ।
१३ असारमा सलहका झुण्ड नेपाल भित्रिएका थिए । तर, यहाँको हावापानीका कारण सलह लामो समय टिक्न नसके पनि केही ठाउँमा बालीनालीमा नोक्सानी पुर्याएको छ। केन्द्रका प्रमुख हुमागाईंका अनुसार, अहिले रुकुम पश्चिम तथा बाग्लुङ र म्याग्दीको सिमानामा केही सलह देखिएका छन् । “प्रतिकूल हावापानीका कारण धेरै सलह तितरवितर भए, केही मरे होलान् । बाग्लुङ र रुकुम पश्चिम बाहेक अन्य ठाउँमा देखिएको खबर आएको छैन”, उनले भने।
नेपालमा आइपुगेको सलहको झुण्ड २०१८ मा अरेवियन प्रायद्वीपमा गर्मी मौसममा शुरु भएको हो । यो झुण्डको संख्यामा वृद्धि भएर सन् २०१९ को पूवार्द्धमा यमन, साउदी अरेविया, इरान र पाकिस्तान हुँदै भारतमा भित्रिएको हो।
सलहका लागि मरुभूमि र गर्मी हावापानी अनुकूल हुन्छ । पछिल्लो समय नेपालमा देखिएको सलहको झुण्ड भारतको राजस्थानबाट हावाको चापले नेपाल ल्याएको कृषि वैज्ञानिकहरुको भनाइ छ।
नेपालमा सहलको सम्भावित प्रवेश तथा त्यसबाट हुनसक्ने क्षतिको व्यवस्थापनका लागि गठित कार्यदलले यस वर्ष नेपालमा सलह नआउने प्रक्षेपण गरेको थियो । संयुक्त राष्ट्रसंघीय कृषि तथा खाद्य कार्यक्रमको अध्ययन र सुझावका आधारमा कार्यदलले मनसुनी वर्षा शुरु भएको र भारतको राजस्थानमा देखिएका झुण्ड तितरवितर भएकाले नेपालमा सलह आउने सम्भावना नरहेको औंल्याएको थियो।
कार्यदलका संयोजक समेत रहेका हुमागाईं सलह हावाको दिशा विपरीत उड्न नसक्ने भएकाले हावाको चाप र दिशाका कारण नेपाल भित्रिएको र फेरि पनि आउन सक्ने सम्भावना रहेको बताउँछन्।