वर्षाका कारण करीब ५ सय मेगावाट विद्युत् उत्पादन बन्द
अविरल भारी वर्षाका कारण खोला तथा नदीमा आएको बाढीका कारण करिब पाँच सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ।
नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युतगृहहरुबाट क्रमश: करीब २४० र २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको हो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षाका कारण मुलुकभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित भएको बताएका छन्। “बाढीका कारण प्राधिकरणका विद्युतगृहबाट करीब ४० प्रतिशत विद्युत् उत्पादन बन्द भएको छ”, घिसिङले भने।
उनले करीब ५ सय मेगावाट उत्पादन हुँदा पनि केही ठाउँमा न्यूनतम विद्युत् कटौती गरी आपूर्तिको व्यवस्थापन गरिरहेको बताए। आन्तरिक उत्पादन बन्द भएपछि भारतबाट कटैया, ढल्केबर हुँदै विद्युत् आयात गरी आपूर्तिको बन्दोबस्त मिलाइरहेको उनले बताए। बन्द रहेका विद्युत्गृह, प्रसारण तथा वितरण लाइन संचालन गरी विद्युत् आपूर्तिको व्यवस्थापन गर्न प्राविधिक टोली प्रयासरत रहेको उनले बताए।
बाढीका कारण नेपालकै सबैभन्दा ठूलो १४४ मेगावाटको कालीगण्डकी ए विद्युतगृह शुक्रबार बिहान ८ बजेबाट बन्द भएको छ। कालीगण्डकी नदीमा पानीको बहाव झन् बढेकाले विद्युतगृह कतिवेला संचालन गर्न सकिन्छ अहिले नै केही भन्न नसकिने केन्द्र प्रमुख पशुपति गौतमले बताए।
प्राधिकरणका ७० मेगावाटको मध्यमर्स्याङ्दी, १६ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट विद्युत्गृह पनि बन्द छन्। निजी क्षेत्रको ४५ मेगावाटको माथिल्लो भोटेकोशी लगायतका विद्युतगृहको करीब २४० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ। भारी वर्षाले इलामको सिद्धीथुम्कामा काबेली करिडोर प्रसारण लाइनमा क्षतिपुग्दा यस लाइनमा जोडिएका विद्युत् आयोजनाहरुको करीब १५० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ।
भारी वर्षाका कारण प्रसारण तथा वितरण लाइनको तार चुँडिने, रुखहरु ढल्दा लाइनमा क्षति पुग्दा विद्युत् आपूर्तिमा समस्या भएको छ।