लक्षण नदेखिएका संक्रमितलाई घरमै आइसोलेसनमा राख्न सकिने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमितहरुको आइसोलेसन सम्बन्धी मापदण्ड, २०७७ जारी गरेको छ। १५ असारमा मन्त्रिपरिषद्बाट स्वीकृत उक्त मापदण्ड मन्त्रालयले २४ असारमा सार्वजनिक गरेको हो।
मुलुकमा कोरोना संक्रमितहरुको संख्या बढिरहेको अवस्थामा अस्पतालमा हुने अनावश्यक भीडभाडलाई कम गर्न उक्त निर्देशिका जारी गरिएको मन्त्रालयले जनाएको छ।
अस्पतालमा भर्ना भई उपचार गर्न आवश्यक नभएका, संक्रमणको लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितलाई छुट्टै आइसोलेसन केन्द्र वा घरमै आइसोलेसनमा राख्न सकिने भएकाले आइसोलेसन केन्द्रमा आवश्यक न्यूनतम मापदण्ड तोकिएको छ ।
आइसोलेसन केन्द्रमा भौतिक पूर्वाधार, जनशक्ति, फोहोर व्यवस्थापन र घर न्यूनतम स्वास्थ्यका मापदण्ड निर्धारण गर्नका लागि मन्त्रालयले निर्देशिका बनाएको हो।
आइसोलेसन केन्द्रमा लक्षण नभएका वा सामान्य लक्षण भएका व्यक्ति मात्र राख्नुपर्ने, ६० वर्षभन्दा माथिका दीर्घ रोगीहरु भएमा छुट्टै क्लिनिकमा राखी निगरानी गर्नुपर्ने, केन्द्रमा राखिएका संक्रमितहरुको एक दिनमा तीन स्वास्थ्य परीक्षण गर्नुपर्ने, आइसोलेसन केन्द्रमा बस्नेका बीचमा दुई मिटरको दूरी कायम गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।
निर्देशिका अनुसार एउटा केन्द्रमा रहने ५० जना संक्रमितहरुका लागि एक जना मेडिकल अफिसर र दुई जना सुरक्षाकर्मी हुनुपर्ने, २५ जनाका लागि दुई जना नर्स वा प्यारामेडिक्स र दुई सरसफाइका कर्मचारी र आइसोलेसन केन्द्रमा महिला संक्रमित भए सम्भव भएसम्म महिला सुरक्षाकर्मी खटाउनु पर्नेछ।
केन्द्रको क्लिनिक व्यवस्थापनतर्फ आइसोलेसनमा रहेका हरेक संक्रमितको नियमित स्वास्थ्य जाँच गरी व्यक्तिगत प्रोफाइलमा अभिलेख अद्यावधिक गर्ने, चिकित्सकको सिफारिश अनुसार औषधि सेवन गरे वा नगरेको सुनिश्चित गर्नुपर्ने लगायतको व्यवस्था गरिएको छ।
केन्द्रमा संक्रमितका लागि चाहिने अक्सिजन सिलिन्डर, अक्सिजन मास्क लगायतका स्वास्थ्य सामग्रीहरुको व्यवस्था गर्नुपर्ने लगायतको मापदण्ड तोकिएको छ।
यस्तै संक्रमणको कुनै लक्षण वा चिन्ह नभएका र सामान्य चिन्ह वा लक्षण भएका व्यक्तिहरु आ–आफ्नै घरमा आइसोलेसन बस्न सक्ने व्यवस्था गरिएको छ। घरमा आइसोलेसनमा बस्नका लागि मन्जुरीनामा गराउनुपर्ने छ।
घरको आइसोलेसन कक्षमा पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठा हुनुपर्ने, उपचार गर्ने अवधिभर घर बाहिर निस्कन नपाउने, आवश्यक सामग्रीहरु परिवारका सदस्य मार्फत मगाउने, पोसिलो खानेकुरा खाने व्यवस्था मिलाउनुपर्ने, नुहाउने ठाउँ र दिसापिसाब गर्ने शौचालय छुट्टै हुनुपर्ने लगायतका १४ बुँदे मापदण्ड बनाइएको छ।
स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले घरमा रहेका संक्रमितहरुको स्वास्थ्य अवस्थाको बारेमा दैनिक कम्तीमा दुई पटक फोन वा एसएमएस मार्फत जानकारी लिएर अभिलेख राख्नुपर्ने व्यवस्था आइसोलेसन सम्बन्धी मापदण्डमा उल्लेख छ।
स्वास्थ्य मन्त्रालयले लक्षण वा चिन्ह नदेखिएका व्यक्ति आइसोलेसनमा बसेको १४ दिनपछि र सामान्य लक्षण देखिएको कम्तीमा १४ दिनपछि वा लक्षण पूर्ण रुपमा निको भएको तीन दिनपछि आइसोलेसनमा बस्न नपर्ने व्यवस्था गरेको छ।