बुधबार राति आएको बाढीले मध्यभोटेकोशी हाइड्रोमा क्षति
बुधबार राति सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले मध्यभोटेकोशी जलविद्युत् आयोजना क्षेत्र डुबानमा परेको छ।
निर्माणाधीन १०२ मेगावाटको सो हाइड्रोपावरमा अर्बौंको क्षति पुगेको छ । एक जना चिनियाँ प्राविधिक बेपत्ता भएको आयोजना प्रमुख सुनिलकुमार लामाले जानकारी दिए।
आयोजनाका लागि आवश्यक उपकरण राख्ने गरिएको भण्डार केन्द्रसमेत बाढीले क्षतिग्रस्त पारेको छ । उनले भन्नुभयो, “आयोजनाका लागि तीन वटा टर्बाइन रनर, जीआईएस र जीटी 'जेनेरेटर ट्रान्सफर्मर' बाहेक सबै उपकरण ल्याएर त्यहाँ राखिएको थियो । ती सबै बाढीले बगाएको अनुमान छ ।”
बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले आयोजनामा व्यापक क्षति भएको बताए। “ड्याममा क्षति भएको छ । पावर हाउसमा पहिरो गएको छ । आयोजनाका सामान राखेको गोदाम केही बगाएको छ भने केही पुरिएको छ”, उनले भने। मध्यभोटेकोशी आयोजनामा पुरिएका सामान क्रेनले निकाल्ने काम भइरहेको उनले जानकारी दिए।