सरिता गिरीको सांसद पद रिक्त
समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीलाई पार्टीको साधारण सदस्यसँगै सांसदबाट निष्कासन गर्ने निर्णय गरेसँगै प्रतिनिधिसभा सदस्यको एक पद रिक्त भएको छ। संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै गिरीको सांसद पद रिक्त भएको जनाएको छ।
पार्टीको ह्वीप नमानेको भन्दै गिरीलाई कारबाहीस्वरुप सांसदबाट हटाउने निर्णय गरेको समाजवादी पार्टीले उनलाई पदमुक्त गरिदिन हिजो संसद् सचिवालयमा पत्र पठाएको थियो।
उक्त पत्र अनुसार राजनीतिक दल सम्बन्धी ऐन, २०७३ बमोजिमको आवश्यक प्रक्रिया पूरा गरेको देखिन आएकाले संविधानको धारा ८९ बमोजिम गिरीको पद रिक्त भएको संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ।
गिरी समाजवादी पार्टीबाट समानुपातिक निर्वाचन प्रणाली मार्फत प्रतिनिधिसभामा सांसद बनेकी हुन्।
नेपालको नयाँ नक्शा जारी भएपछि संविधानमा भएको निशान छाप अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथि गिरीले संशोधन प्रस्ताव दर्ता गरेकी थिइन् ।
उनको प्रस्ताव सभामुखले अस्वीकृत गरेपछि उनी संविधान संशोधनका लागि मतदान भएको दिन बैठक छोडेर हिंडेकी थिइन्। समाजवादी संशोधन विधेयकको पक्षमा मतदान गर्न सांसदहरुलाई निर्देशन दिएको थियो।
सोही विषयमा समाजवादी पार्टीको पदाधिकारी बैठकले २३ असारमा गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गर्ने निर्णय गरेको थियो।