सडक भत्किंदा सिन्धुपाल्चोकका बाढी-पहिरो प्रभावितको उद्धारमा कठिनाइ
गए रातिदेखि परेको वर्षाका कारण सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाका बाढी र पहिरोबाट प्रभावित भएका छन्। तर, प्रतिकूल मौसम र बाढीले सडक बगाएपछि प्रभावितहरुको उद्धारमा समस्या भएको छ।
बाह्रबिसे नगरपालिका-५ जम्बु बजार बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन्। यस्तै, भोटेकोशी गाउँपालिका-५ स्थित बुल्कोटेमा बाढीले चार वटा घर बगाउँदा चार जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख, एसपी प्रज्वल महर्जनले स्थानीय प्रहरी घटनास्थलमा पुगेको बताउँदै भोटेकोशी नदीले विभिन्न ठाउँमा सडक बगाएका कारण थप प्रहरी पठाउन नसकिएको बताए। उनका अनुसार, घटनास्थलभन्दा डेढ किलोमिटर तल रहेको नेपाली सेनाको ब्यारेकमा हेलिकप्टर पुगेर एक जना घाइते महिलालाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ।
जुरेमा भोटेकोशी नदीले सडक नै बगाएकोले सडक मार्ग हुँदै माथि जाने सम्भावना छैन। जुरेभन्दा तल गएको पहिरोले अरनिको राजमार्ग नै अवरुद्ध पारेको छ। त्यो ठाउँको पहिरो पन्छाउने काम भइरहेको एसपी महर्जनले बताए।
बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो लामाले बाढीबाट प्रभावित जम्बु बजार पुग्ने अरनिको राजमार्गको डेढ किलोमिटर भाग बाढीले भत्काएको बताए । उनका अनुसार, घाइते चार जनालाई उपचारका लागि अरनिको राजमार्गभन्दा माथिको बाटोबाट बोकेर बाह्रबिसे ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, बाह्रबिसेका १३ र भोटेकोशी गाउँपालिकाका २ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । दुवै ठाउँमा गरी २२ जना बेपत्ता छन्।
घटनास्थल जान सभामुख अग्नि सापकोटसहित सिन्धुपाल्चोकका जनप्रतिनिधि चढेको हेलिकप्टर प्रतिकूल मौसमका कारण काभ्रेको धुलिखेलबाट फर्किएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, बाह्रबिसे क्षेत्रमा १४९ मिलिमिटर वर्षा मापन गरिएको छ।
भारी वर्षाको सम्भावना
यसैबीच, भारतको विहार र उत्तरप्रदेशमा रहेको न्यूनचापीय रेखा उत्तरतर्फ सर्ने क्रममा रहेकाले अझ धेरै भारी वर्षाको सम्भावना छ । महाशाखाका वरिष्ठ मौसमविद बरुण पौडेलका अनुसार, भारी वर्षा गराउने न्यून चापीय रेखा क्रमश: उत्तरतर्फ सरेर नेपालको सीमा नजिक आइपुगेको छ । यसले प्रदेश १, २, वागमती प्रदेशसहित गण्डकी प्रदेश तथा प्रदेश ५ को गुल्मी र अर्घाखाँचीमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् पौडेलले बताए।
महाशाखाले ती स्थानमा सर्तकता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।