प्रतिपक्षीको विरोधका बाबजुद सुदूरपश्चिम प्रदेशको बजेट पारित
उन्नती चौधरी, कैलाली
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट प्रतिपक्षी दलको विरोधका बाबजुद प्रदेश सभाले पारित गरेको छ । आज दिउँसो बसेको संसद बैठकले १४ वटा प्रतिपक्षी दलको विरोधका बाबजुद बजेट पारित गरेको हो।
आज प्रतिपक्ष दलले कोरोना माहामारीमा भएको ९३ करोड खर्च भएको हिसाबको खोजी, क्वारेन्टिन व्यवस्थापन, दलका संसद सचिवालयका कार्यालय व्यवस्थापन र महिला सांसदको लागि सचिवालयभित्र छुट्टै शौचालयको मागसहित संसद अवरोध र नाराबाजी गरेका थिए।
“हाम्रो मागलाई बेवास्ता गर्दै विरोधका बाबजुद पनि बजेट पारित भयो,” प्रदेश सांसद मालामती रानाले भनिन्।
सभामुख अर्जुनबहादुर थापाले बजेट पारित भएको घोषणा गर्दा प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरूले सदनमै सरकार विरुद्ध नाराबाजी गरेका थिए।
कोरोना नियन्त्रणमा प्रदेश सरकारले ठोस काम गर्न नसकेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका प्रदेश सभा सदस्यहरूले सदनमा निरन्तर अवरोध गर्दै आएका थिए।
बजेटमाथिको छलफलका लागि बोलाइएका बैठकहरूमा लगातार अवरोध हुन थालेपछि सभामुखले प्रतिपक्षको अवरोधकै बीच बैठक शुरु गरेका थिए।
प्रतिपक्षको निरन्तर अवरोधले सरकारले १ असारमा सार्वजनिक गरेको बजेटमाथि छलफल हुन सकेको थिएन।