शेयर बजार १० अंकले घट्यो
शेयर बजार परिसूचक नेप्से बुधबार १०.१३ अंकले घटेको छ । मंगलबार करीब ३८ अंकले बढेको शेयर बजारमा बुधबार करेक्सन आएर नेप्से परिसूचक १ हजार ३२६.५३ विन्दुमा ओर्लिएको छ।
बुधबार व्यापार र म्युचुअल फण्डबाहेक सबै समूहका उपसूचकहरु नकारात्मक भए । सबैभन्दा धेरै होटल समूह २.७२ प्रतिशतले ओरालो झर्यो । तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले सबैभन्दा धेरै ६.९८ प्रतिशत गुमाए ।
त्यस्तै, कालिका पावर कम्पनीका लगानीकर्ताले ५.५६ प्रतिशत गुमाए । नेशनल हाइड्रोका लगानीकर्ताले ५.२६ प्रतिशत घाटा बेहोरे। सूर्योदय लघुवित्तका लगानीकर्ताले भने सबैभन्दा धेरै ९.८८ प्रतिशत नाफा कमाए।
बुधबार १७९ कम्पनीका रु. १ अर्ब ७ करोड ८४ लाख मूल्यका २९ लाख ७७ हजार कित्ता शेयर किनबेच भएको छ।