थारु आयोगले पूर्णता नपाउँदासम्म काम गर्न सकिंदैन: अध्यक्ष चौधरी
थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आयोगले पूर्णता नपाउँदा सम्म आयोगका क्रियाकलापलाई गति दिन नसकिने बताएका छन्।
संघीय संसद प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको मंगलबारको बैठकमा सरकारले थारु आयोगलाई पूर्णता नदिएकाले आयोगका क्रियाकलापलाई गति दिन नसकिएको बताएका हुन्।
उनले आयोगका सदस्यहरूको नियुक्ति नहुँदासम्म कुनैपनि क्रियाकलापलाई गति दिन नसकिने स्पस्ट पारे । थारु आयोगले गर्ने कार्यको पहिचान भइसकेको तर सदस्यहरूको नियुक्ति नहुँदा काम गर्न समस्या भएको गुनासो गरे।
थारु आयोगको इतिहास अध्ययन गर्ने कार्य महत्वपूर्ण भएकाले अहिले त्यसतर्फ ध्यान दिइएको भन्दै उनले अबको १० वर्ष भित्रमा थारु संस्कृतिको अध्ययन नगरी संरक्षण नगरे सबै संस्कृति लोप हुन सक्ने भएकाले आयोगको ध्यान त्यसतर्फ केन्द्रित भएको बताए।
उनले राज्यको नीति निर्माण तहमा आयोग रहेपनि समन्वय नगरी काम गरिएकाले थारुका समस्या समाधानका लागि ठोस कदम चाल्न नसकिएको तर्क गरे । नीतिगत रुपमा स्पस्ट हुन नसक्दा कमलरी, कमैया लगायतका समस्याको समाधान अझैपनि हुन नसकेको भन्दै अध्यक्ष चौधरीले सरकारले कमैया मुक्तिको घोषणा गरेको तर व्यवस्थापनमा ध्यान नदिएका कारण समस्या कायमै रहेको बताए।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद गंगा चौधरीले थारु समुदायका भाषा संस्कृतिको संरक्षण गर्ने तर्फ थारु आयोगले विशेष काम गर्नुपर्ने बताए । उनले थारु समुदायमा धेरै राम्रा प्रथा रहेकाले त्यसको संरक्षण गरी आयोगले आफ्ना क्रियाकलापलाई अगाडि बढाउनुपर्नेमा जोड दिए।
नेकपाका सांसद खेमप्रसाद लोहनीले देशको सिमानामा बसेर देशको संरक्षण गर्ने थारु समुदायलाई सशक्त बनाउन सरकारले विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिए। थारु आयोगको समितिलाई पूर्णता दिने र क्षमता वृद्धि गरी शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा सरकारले ठूलो लगानी गर्नुपर्ने उनको भनाइ थियो।
नेकपाका सांसद नारायणप्रसाद खतिवडाले आयोग गठन भएको दुई वर्ष भइसक्दा पनि तल्लो तहसम्म पुगेर काम गर्न नसकेको बताए । उनले वार्षिक प्रतिवेदनमा लक्ष्य र उद्देश्य, सम्भावना र चुनौतीको बारेमा केही उल्लेख भएपनि आयोगले गर्ने कार्यलाई पूर्णता दिन नसकेको प्रतिवेदनमा देखिएको बताए।
उनले थारु आयोग संवैधानिक आयोग भएकाले तल्लो तहसम्मका समस्या समाधानका लागि काम गर्नुपर्नेमा जोड दिए। जातीय आयोग, थरीय आयोग, भेगीय आयोग कति वटा बनाउने र काम गर्ने भन्ने सम्बन्धमा छलफल गरी सबै क्षेत्रको समस्या समाधानका लागि संवैधानिक आयोग चाहिन्छ कि चाहिंदैन भन्ने विषयमा समीक्षा गर्नुपर्ने अवस्था आएको उनको तर्क थियो।
नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले आयोगले पूर्णता नपाउँदा सम्म धेरै काम खोजेर पाउन नसकिने बताइन्। उनले आयोगलाई पूर्णता दिन नसक्दासम्म कुनैपनि प्रगतिको अपेक्षा नगर्न आग्रह गरिन्।
सांसदहरूले आयोगको उद्देश्य र कार्यक्रमहरुको विषयमा स्पष्ट हुन थारु आयोगका अध्यक्ष चौधरीलाई आग्रह गरेका छन् । तल्लो तहसम्म पुगेर थारु समुदायका समस्या समाधान र उनीहरुको शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितताका लागि गर्नुपर्ने कार्यहरुलाई प्राथमिकता दिएर अगाडि बढ्न सांसदहरूले सुझाव दिएका छन्।