कतारमा कोरोनाभाइरस संक्रमित एक लाख पुग्दा झन्डै ९४ हजार निको भए
कतारमा कोरोनाभाइरस संक्रमितको कूल संख्या २२ असार (७ जुलाई) मा एक लाख पुगेको छ। त्यहाँ एक लाख ३४५ जना संक्रमित भेटिएका छन्। तर, अधिकांश निको भइसकेका छन्।
कोरोनाभाइरसबाट मुक्त हुनेको संख्या ९३ हजार ८९८ पुगेको छ। अहिलेसम्म १३३ जनाको मृत्यु भएको छ। अब त्यहाँ उपचाररत संक्रमितको संख्या ६ हजार ३१४ छ।
कोरोनाभाइरसको संक्रमितको संख्या एक लाख नाघ्ने कतार २१औँ देश हो। तीमध्ये उपचार र नियन्त्रणमा सफलता पाउने जर्मनीपछिको दोस्रो देश हो। करीब दुई लाख कूल संक्रमित भएको जर्मनीमा उपचाररतको संख्या ६ हजार २२५ छ।
कतारमा पछिल्लो समय दैनिक कोरोनाभाइरस संक्रमित भेटिने संख्या निरन्तर ओरालो लागेको छ। अहिले त्यहाँ दैनिक औषत ५०० हाराहारीमा संक्रमित थपिन्छन्। २२ असार (हिजो) ५४६ संक्रमित भेटिएका छन्।
सबैभन्दा धेरै संक्रमित ३० मेमा दुई हजार ३३५ जना भेटिएका थिए। त्यस यता संक्रमित भेटिने दर निरन्तर घटेको हो।
यो हप्ता त्यहाँको मृत्युदर भने बढेको छ। तर, त्यो भयावह छैन। पछिल्लो ६ दिनमा त्यहाँ २० जनाको मृत्यु भयो। पछिल्लो दुई दिन सोमबार र आइतबार १० जनाको मृत्यु भयो। दुवै दिन पाँच पाँच जनाले ज्यान गुमाए।
यो पनि: कतारमा ५० प्रतिशत कामदार राखेर कम्पनी खोल्न अनुमति
संक्रमण शुरु हुनेबित्तिकै कतारले बन्दाबन्दी घोषणा गरेको थियो। कतार सरकारले बन्दाबन्दीलाई कडाइका साथ पालना गराएको थियो। बन्दाबन्दी उल्लंघन गर्नेलाई जेल हाल्नेदेखि विदेशीलाई देश निकाला गर्नेसम्म गरेको थियो।
कतारमाथि संक्रमण बढ्न थालेपछि विदेशी कामदारलाई जबर्जस्ती उनीहरुको देश फर्काएको आरोप पनि लागेको थियो। कतार सरकारले ४०० नेपाली कामदारलाई पनि अघिल्लो महीना नेपाल फर्काएको थियो। उनीहरु गैरकानूनी रुपमा बसेको आरोप थियो।
तर उनीहरुलाई कोरोनाभाइरस परीक्षणका लागि भन्दै झुक्याएर एयरपोर्ट लगी नेपाल पठाएको थियो। एमनेष्टी इन्टरनेशनलले तीमध्ये २० नेपालीसँग सोधपुछ गर्दा झुक्याएर निकाला गरेको पुष्टि भएको जनाउँदै कतारको आलोचना गरेको थियो।