शिशिर योगीको अल्बम ‘शिशिर’को लोकार्पण
गायक शिशिर योगीको आधुनिक गीतिसंग्रह ‘शिशिर’को लोकार्पण गरिएको छ ।
आज ललितपुर पाटनढोकास्थित यलमाया केन्द्रमा आयोजित समारोहमा संस्कृतिविद् सत्यमोहन जोशी, गीतकारद्वय कालीप्रसाद रिजाल, रत्नशमशेर थापा र म्यूजिक नेपालका अध्यक्ष सन्तोष शर्माले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
बिर्सिदिनेलाई, पुतली, तेरो मेरो, इतरी, जति चोट, हर रात, सारा सृष्टिमा, दिनको दिनै, जहाँ म जाउँ गरी अल्बममा ९ वटा गीत छन् ।
‘बिर्सिदिनेलाई’ भीम विरागले लेखेका हुन् भने राजकुमार श्रेष्ठले संगीत भरेका छन् । ‘पुतली’का शब्द कमल दीक्षितका हुन् । यसमा गायक स्वयम्काे संगीत छ । समारोहमा ‘पुतली’को भिडियो समेत सार्वजनिक गरिएको थियो ।
सत्यमोहन जोशीको शब्द रहेको ‘तेरो मेरो’मा सन्तोष श्रेष्ठको संगीत छ । त्यस्तै रत्न शमशेर थापाको शब्द र नारायणगोपालको संगीतमा तयार भएको ‘इतरी’मा योगीका साथै गायिका ज्ञानु राणाको पनि स्वर सुन्न सकिन्छ ।
‘जति चोट’ रत्न शमशेर थापाले लेखेका हुन् । यसलाई अम्बर गुरुङले संगीतबद्ध गरेका छन् । ‘हर रात’, ‘सारा सृष्टिमा’ र ‘दिनको दिनै’ रत्नशमशेर थापाको रचनामा तयार भएका गीत हुन् । ‘सारा सृष्टिमा’ मा नोर्बु छिरिङ (आप्पा)को संगीत छ भने ‘हर रात’ र ‘दिनको दिनै’ मा गायक योगीकै संगीत छ ।
त्यस्तै, ‘जहाँ म जाँउ’मा कालीप्रसाद रिजालको शब्द र अम्बर गुरुङको संगीत सुन्न सकिन्छ ।
यी गीतहरु ‘म्यूजिक नेपाल’ एप डाउनलोड गरेर सुन्न सकिन्छ ।