समयमै पुल नबन्दा जोखिम मोलेर डुंगामा वारपार
रौतहट र सर्लाही जिल्लालाई जोड्न बागमती नदीको महेन्द्र राजमार्ग भएको क्षेत्रमा मात्र पुल सञ्चालनमा रहेको छ । मध्यरौतहटको पकाहा र मध्यसर्लाहीको महिनाथपुरको बीचमा बागमतीमा पुल बनिसकेको छ तर पुलसम्म पुग्ने सडक नहुँदा गर्मी र हिउँदमा पनि मुस्किलले साना सवारी साधन ओहोरदोहोर गर्छन्।
- सञ्जय मित्र, रौतहट
रौतहटबाट सर्लाहीको रामनगर गाउँपालिका कार्यालयमा काम विशेषले जान लागेका गरुडाका किशुनदयाल यादव वागमती नदीको पानी छेउमा डेढ घन्टा पर्खेर फर्के । कम्मरसम्म डुबाउने पानी रहेको खोल्सो तरेर बागमतीको मुख्य धारासम्म पुगेका यादवले डेढ घन्टा पर्खिदा पनि डुंगा नआएपछि सर्लाही पुग्न पाएनन्।
डुंगामा जोखिमपूर्ण यात्रा गरेर बागमती पुगेर फर्किँदा डुंगा नपाउने हो कि अनिश्चयले यादव आफूलाई मर्का परे पनि घर फिर्ता हुन बाध्य भए।
कहिलेकाहीं यात्रुहरू बगरमै अलपत्र पर्ने गरेको र कतै कुनै उपाय नहुँदा कसैको घरमा शरणार्थी बन्नुपरेको नदी किनारका मानिसहरूले बताएपछि यादव फिर्ता भएका हुन्।
रौतहटकै दुर्गा भगवती गाउँपालिकाका प्रभातकुमार झाले केही दिन पहिले सर्लाहीतिरबाट आउँदा डुंगा पर्खेर पाँच घन्टाभन्दा बढी समय बागमती किनारमै बिताउनु परेको बताए । बागमती किनारमा डुंगालाई कहिलेकाहीं एक्लै बसेर पर्खिनु पनि डरलाग्दो हुने गरेको स्थानीयको भनाइ छ।
नदी वारि र पारि गाउँहरू देखिन्छन् तर करीब साढे दुई किलोमिटरको दूरी पार गर्न वर्षातको समयमा कहिलेकाहीं पाँच घन्टासम्म लाग्ने गरेको रामनगरका असर्फी सहनीले बताए । “डुंगाको कुनै ठेगान नै हुँदैन” सहनी भन्छन् “बाढीको समयमा कहिलेकाहीं पाँच घन्टासम्म डुंगा पर्खिनु स्वाभाविक जस्तै हो।”
दुर्गाभगवती र रामनगरलाई जोड्ने पुलको निर्माण वर्षौदेखि भइरहेको छ । सुस्त गतिमा निर्माण भइरहेको पुलको अवयव देखेर नदी किनारमा घन्टौं डुंगाको प्रतीक्षा गर्नु ओहोरदोहोर गर्नेको विवशता रहेको छ।
रौतहट र सर्लाही जिल्लालाई जोड्न बागमती नदीको महेन्द्र राजमार्ग भएको क्षेत्रमा मात्र पुल सञ्चालनमा रहेको छ । मध्यरौतहटको पकाहा र मध्यसर्लाहीको महिनाथपुरको बीचमा बागमतीमा पुल बनिसकेको छ तर पुलसम्म पुग्ने सडक नहुँदा गर्मी र हिउँदमा पनि मुस्किलले साना सवारी साधन ओहोरदोहोर गर्छन् । यसबाहेक समनपुर र बडहर्वामा पुल बनिरहेका छन्।
बडहर्वानजिक बागमती नदीमा वर्षौंदेखि पुल निर्माण अलपत्र परेको छ । हुलाकी राजमार्ग निर्माणले गति लिएसँगै पुल निर्माणको आशा भने स्थानीयमा पलाएको छ।
बन्दाबन्दीले स्थानीय यात्रुलाई बढी समस्यामा पारेको बलराका डा. कमलेश्वरकुमार सिन्हाको भनाइ छ । पुल नहुँदा पनि भारतीय सिमाना भएर ओहोरदोहोर गर्न खासै गाह्रो थिएन तर बन्दाबन्दीले गर्दा नेपाल–भारत सिमानामा ओहोरदोहोर गर्न रोक लागेकाले डुंगाको विकल्प नभएको डा. सिन्हाको भनाइ छ।
नेपाल–भारत सिमानाको करीब दुई किलोमिटर दक्षिण बागमतीमा पुल निर्माण भएको छ । रौतहट र सर्लाहीका दक्षिणी भेगका मानिसको लागि यो वैकल्पिक बाटो बन्द भएपछि डुंगाको जोखिमपूर्ण यात्रा नै विकल्प बाँकी रहेको छ।
वर्षाको समयमा ग्रामीण बाटोहरु हिलाम्मे हुने भएकाले महेन्द्र राजमार्ग पुगेर ओहोरदोहोर झनै मुस्किल हुने रामनगर गाउँपालिकाका शिक्षा संयोजक रामपवित्र साहको भनाइ छ । तर पनि डुंगामा धेरै समय लाग्ने र जोखिम पनि अत्यधिक हुने हुनाले आफूले टाढाको बाटो नै प्रयोग गर्ने गरेका संयोजक साह बताउँछन्।
डुंगामा यात्रा गर्दा समय कति लाग्छ यसको ठेगान हुँदैन तर लाइफ ज्याकेट नदिने हुनाले झन् डरमर्दो हुन्छ । डुंगामा यात्रा गर्नेहरूको ज्यान जोखिममा हुने गरेको छ।
बागमती र बकैयामा झन्डै हरेक वर्ष डुंगा दुर्घटना हुने गरेको छ । डुंगा दुर्घटनामा कहिलेकाहीं जनधनको क्षति हुने गरेको छ।
पानीको धारमा पुगेपछि अचानक बाढी आउनु, भेल ठूलो हुनु, डुंगाको क्षमताभन्दा यात्रु बढी हुनु तथा डुंगा खियाउने मानिस तालिम प्राप्त नहुनु र कहिलेकाहीं डुंगा खियाउन प्रयोग गरिने बाँस नदीमा गाडिनुजस्ता कारणले डुंगा दुर्घटना हुने गरेको छ।
बागमती र बकैया नदीका धेरै घाटहरूमा डुंगा चल्ने गरेको भए पनि यात्रुलाई लाइफ ज्याकेटको व्यवस्था नहुँदा जोखिम बढेको किशुनदयाल यादवको भनाइ छ । जोखिम कम गर्न स्थानीय प्रशासनले हरेक यात्रुलाई अनिवार्य रुपमा लाइफ ज्याकेट उपलब्ध गराएर मात्र डुंगामा यात्रा गराउन निर्देशन दिनुपर्ने यादवको भनाइ छ।