महामारीपछि स्वदेश फर्केका युवा भन्छन्, “फेरि परदेशिने इच्छा छैन तर के गर्ने थाहा छैन”
कोरोनाभाइरसको महामारीपछि भारत लगायत मुलुकबाट फर्केका युवालाई रोजगारीको अवसर दिने गरी स्थानीय सरकारको तयारी नहुँदा अन्योल देखिएको छ।
- रामु सापकोटा र कमल पौडेल, बाग्लुङबाट
बाग्लुङको बडिगाड गाउँपालिका–५ ग्वालीचौरका सुरज परियार (२१) भारतको नयाँ दिल्लीस्थित एक होटलमा कुकको काम गर्थे । तर, बन्दाबन्दीले होटल बन्द भएर पारिश्रमिक पाउन छाडेपछि उनी ४ असारमा घर फर्किए । दिल्लीमै एक तन्दुरी होटलमा काम शुरू गरेको एक महीनामै उनका भाइ सन्तोष परियार (१८) पनि सँगै स्वदेश फर्किए।
ग्वालीचौरको वेलफेयर इङ्लिश बोर्डिङ स्कूलको क्वारेन्टिनमा रहेका उनीहरू १४ दिन बसेर कोरोनाभाइरस परीक्षणमा नेगेटिभ नतिजा आएपछि घर फर्किएका छन् । तर, उसै पनि घरपरिवार आर्थिक अभावमा रहेको अवस्थामा कोरोना कहरले रोजगारी खोसेपछि अब कसरी जीविकोपार्जन गर्ने भन्नेमा दाजुभाइ नै अन्योलमा छन्।
क्वारेन्टिनमा रहेको समयमा सुरजले भने, “फेरि भारत गएर काम गर्ने अवस्था र इच्छा दुवै छैन, गाउँघरमै जेजस्तो काम पाइए पनि गर्ने सोच छ । तर, यहाँबाट निस्केपछि कता के गर्ने भन्ने कुनै योजना छैन।”
स्थानीय तहबाट आश
अरुको जग्गामा बसिरहेका सुरजको परिवार सुकुम्बासी हुन् । साहुको खेत अँधिया गरेर गुजारा चलाउँदै आएका थिए । बुवा बिरामी भएको, ठूलो दाइ हराएको र माइलो दाइ बितेको अवस्थामा घरमा कमाउने अरु कोही नभएपछि उनी १३ वर्षअघि भारत पसेका थिए । उनकै कमाइले परिवार पालिंदै आएकोमा फर्केपछि आम्दानीको बाटो नै बन्द भएको छ।
एक वर्षअघि उनका बुवाको समेत मृत्यु भइसकेको छ । घरमा आमा, एक जना भाउजू, दुई जना भाइ र तीन जना भतिजाको पेट कसरी पाल्ने भन्ने उनको चिन्ता छ । आमा फूलमती परियार घरमा काम गर्ने कोही नभएको र स्वास्थ्य कमजोर हुँदै गएपछि आफूले अँधिया काम छोडिसकेको बताउँछिन्।
होटलमा कुकको अनुभव बटुलेका सुरज गाडी चलाउन र खेतीपातीको काम गर्न सक्छन् । “बन्दाबन्दी खुलेपछि गाडी चलाउने सोच छ, काम पाइने हो कि होइन” उनी भन्छन्, “गाउँपालिकाबाट जे जस्तो काम पाए पनि गर्न सक्छु भन्ने लागेको छ।”
बाग्लुङ जिल्लाकै सबैभन्दा ठूलो गाउँपालिका बडिगाडबाट सुरज र सन्तोष जस्तै करीब ४३ सय जनशक्ति रोजगारीका लागि भारत गएका थिए । कोरोना कहरबाट विश्व नै प्रभावित भएकाले भारतसहित विभिन्न मुलुकबाट रोजगारी गुमाएर फर्कनेको संख्या बढिरहेको छ । तर, उनीहरू यहाँ आएर रोजगारी पाउने अवस्था नदेख्दा अलमलमा परेका छन्।
छैन ठोस योजना
विदेशबाट फर्केकाहरूले ती देशहरूमा कामका सिलसिलामा हासिल गरेका सीप र ज्ञान लिएर आएका छन् । तर, स्थानीय सरकारहरूले उनीहरूको सीप उपयोग गर्ने गरी योजना बनाउन सकेका छैनन्।
बाग्लुङको बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजा विदेशबाट फर्केकाहरुको मानसिकता बुझेर कार्यक्रमहरू ल्याइने बताउँछन् । कृषि, पशुपालन र सीप विकासलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ । “फर्केका युवाको सीप, ज्ञान र क्षमता सुहाउँदो आयआर्जनका कार्यक्रमका लागि रणनीति तयार गर्नेछौं”, पाइजा भन्छन्, “गाउँपालिकाको आन्तरिक स्रोतमा कमी आएकाले अवसर सिर्जना गर्ने नयाँ कार्यक्रम ल्याउन भने चुनौती छ।”
बडिगाड गाउँपालिकाले गएको वर्ष रु. नौ करोड राजस्व संकलन भएकामा यस वर्ष कोरोनाभाइरस महामारीको असरले राजस्व संकलन खस्किंदा अप्ठ्यारो स्थिति भएको पाइजा बताउँछन्।
बडिगाड–५ का वडाध्यक्ष अर्जुनप्रसाद खरेल भने जनशक्तिलाई रोजगारीको अवसर दिन अब डोजर लगायत उपकरणका प्रयोग घटाउने बताउँछन् । उनका अनुसार, १० असारमा सम्पन्न गाउँसभाले कृषिमा रु. ८५ लाख र पशुपालनका लागि रु. ५० लाख बजेट छुट्याएको छ।
अवसर नदिए सामाजिक जोखिम !
वैदेशिक रोजगारीमा गएका प्रमुख गन्तव्यबाट नेपालहरू फर्किने क्रम बढिरहेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का अनुसार १८ असारसम्ममा युएई, मलेशिया, साउदी अरब लगायतका २१ मुलुकबाट झण्डै १७ हजार कामदार स्वदेश फर्किएका छन् (हे.इन्फो) ।
फर्किनेहरुमा सबैभन्दा बढी कुवेतबाट ३५२७, यूएईबाट २७३७ र साउदी अरबबाट दुई हजार जना छन्।
यसबाहेक गृह मन्त्रालयका अनुसार भारतबाट फर्किने कामदारको संख्या २०७६ फागुन २५ देखि १८ असार २०७७ सम्ममा आठ लाख १० हजार छ ।
समाजशास्त्री तथा श्रमसम्बन्धी जानकार गणेश गुरुङ वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई स्थानीय सरकारहरूले तत्कालै रोजगारी दिन सक्ने देख्दैनन् । बाहिरबाट युवाहरू उच्च प्रविधिमा काम गरेर आएका कारण त्यहाँको सीप कार्यान्वयनमा ल्याउने गरी स्थानीय सरकारले कार्यक्रम ल्याउन कठिन हुने उनको तर्क छ।
त्यसो भए स्थानीय सरकारले कस्ता कार्यक्रम ल्याउन सक्छन् त ?
गुरुङ स्थानीय आवश्यकता अनुसार कृषि तथा पशुपालन लगायत क्षेत्रमा कार्यक्रम ल्याउन सक्ने बताउँछन् । “यसो गरे विदेशबाट फर्केकाहरूले तत्कालै अवसर पनि पाउँछन्, र स्थानीय स्तरको माग पनि पूरा हुन्छ”, उनी भन्छन्।
नेपालमा रोजगारी नपाएर ठूलो संख्यामा युवा विदेशिएका हुन् । विदेशबाट यति ठूलो संख्यामा एकै पटक कामदार फर्केको इतिहास छैन । उनीहरूलाई उपयोगमा ल्याउने गरी कामका अवसरहरू सिर्जना नसके विभिन्न सामाजिक र आर्थिक समस्या निम्तिने जोखिम बढ्छ।
समाजशास्त्री गुरुङ भन्छन्, “विदेशबाट फर्केका जनशक्ति उपयोग गर्न नसके बेरोजगारीको समस्या चुलिएर समाजमा अराजकता बढ्न सक्छ।” चोरी, डकैती जस्ता सामाजिक विकृति मौलाउने र प्रजनन् दर बढ्ने उनको भनाइ छ। प्रजनन दर बढ्दा खाने मुख बढेर बेरोजगारीको समस्यामा गरीबी थप बढ्ने गुरुङ बताउँछन्।