कोरोनाभाइरसबाट विश्वभर एकैदिन दुई लाख संक्रमित !
विश्वभर कोरोनाभाइरसबाट दैनिक संक्रमित हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो तीन दिन संक्रमितको संख्या दुई लाख आसपास रहेको छ।
गएको शुक्रबार एकैदिन दुई लाख नौ हजारभन्दा बढी संक्रमित भए । एकैदिन संक्रमितको संख्या दुई लाख नाघेको यो नै पहिलोपटक हो । अघिल्लो दिन बिहीबार झन्डै एक लाख ९८ हजार संक्रमित भेटिएका थिए।
शनिबार भने करीब एक लाख ९० हजार संक्रमित भेटिएका छन् । अमेरिकामा दैनिक संक्रमित भेटिने संख्या ५० हजार नाघेको छ ।
पछिल्लो चार दिनमा त्यहाँ हरेक दिन औसतमा ५० हजारभन्दा बढी नयाँ संक्रमित भेटिन थालेका छन् । अमेरिकामा कूल संक्रमितको संख्या २९ लाख ३५ हजारभन्दा बढी पुगिसकेको छ ।
अमेरिकापछि ब्राजिल कोरोनाभाइरस संक्रमणबाट आक्रान्त छ । ब्राजिलमा कूल संक्रमितको संख्या करीब १६ लाख पुगिसकेको छ ।
त्यहाँ दैनिक औसत संक्रमितको संख्या ४० हजारभन्दा माथि छ । सबैभन्दा बढी १९ जुलाईमा एकैदिन ५५ हजारभन्दा बढी संक्रमित भेटिएका थिए ।
विश्वभर अहिलेसम्म करीब एक करोड १४ लाख संक्रमित भेटिएका छन् । तीमध्ये ६४ लाख ३३ हजारभन्दा बढी निको भएका छन् ।
पाँच लाख ३२ हजार ८६१ को मृत्यु भएको छ । अहिले उपचाररत संक्रमितको संख्या ४४ लाख पाँच हजार २०१ छ । तीमध्ये एक प्रतिशत अर्थात ५८ हजार ५३० जना गम्भीर छन्।