नेतृत्वलाई दबाब दिन मन्त्रीको क्वाटरमा सांसदको भेला
सत्तारुढ दल नेकपाभित्रको विवाद चुलिँदै गर्दा पार्टीका सांसदहरूको पनि छुट्टाछुट्टै भेला र बैठक चलिरहेका छन् । केही दिनयता शीर्ष तीन नेताका विभिन्न पक्षहरूको सामूहिक र छुट्टाछुट्टै बैठकहरूले तिब्रता पाएका छन् ।
शनिवार बिहान पनि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङको पहलमा तीनै पक्षका नेताहरूबीच छलफल भयो । छलफलमा दुई अध्यक्ष र नेपाल पक्षका तीनतीन जना नेताहरू सहभागी थिए ।
मन्त्री गुरुङको क्वाटरमा नेताहरू झपट रावल, यज्ञराज सुनुवार, टेकबहादुर बस्नेत, गणेश पहाडी, लिलानाथ श्रेष्ठ, सुरेश राई, खिमलाल भट्टराई, श्याम कुमार श्रेष्ठ सहभागी थिए ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाललाई भेटेर पार्टी एकतालाई सुदृढ बनाउन तथा एकता विरोधी हुने गतिविधिहरू रोक्न आग्रह गर्ने निर्णय उक्त भेलाले गरेको छ ।
"शीर्ष नेताहरूलाई भेटेर एकतालाई बलियो बनाउन आग्रह गर्ने र कार्यकर्ताहरूको बीचमा पार्टी फुट्ने हल्ला चिर्नका लागि हामी छलफलमा जुटेका हौं," मन्त्री गुरुङले भने । भेलाले मन्त्री गुरुङलाई नै प्रदेशको पार्टी नेतृत्व र मुख्य मन्त्रीहरुसँग छलफल गर्ने जिम्मा दिएको छ ।
तीन शीर्ष नेतालाई भने आ–आफ्नो पक्षका नेताहरूले समय मिलाउने भएका छन् । तीन नेतासँग पर्सीको स्थायी कमिटीको बैठक अघि नै भेट्ने निर्णय छलफलबाट भएको छ ।
पार्टी नेतृत्वमा विवाद बढ्दै गएपछि स्थायी कमिटी र केन्द्रीय कमिटी तहमा नेताहरुले छुट्टाछुट्टै तरिकाले दबाब दिन थालेका छन् ।
केन्द्रीय समितिका नेताहरूले पार्टी कार्यालय धुम्बराहीमा हिजोदेखि थालेको धर्ना आज पनि जारी रह्यो ।