‘नेकपा फुट्यो भने नेपालमा कम्युनिष्ट सिद्धिन्छ’
लामो समयदेखि आन्तरिक विवादमा रुमलिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा देखिएको छ । खासगरी १० असारदेखि शुरु भएको पार्टीको स्थायी कमिटी बैठकपछि विवाद उत्कर्षमा पुगेको हो । बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी शैली देखिएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्षस्थ नेताहरूले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरे।
प्रम ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संघीय संसद्को अधिवेशन अन्त्य गरेपछि नेकपाको स्थायी कमिटी प्रभावित बनेको छ भने गुटगत छलफल र गतिविधि बढेको छ । तर, पार्टी विभाजनकै सँघारमा पुग्दा पनि स्थायी कमिटीमा अर्थपूर्ण भूमिका राख्ने केही नेताहरु बोलेका छैनन्। तिनैमध्येका एक, किरण गुरुङसँग हिमालखबरले गरेको संक्षिप्त कुराकानीः
नेकपाको विवाद उत्कर्षमा पुगे पनि तपाईंको आवाज सुनिंदैन, तपाईंको विचार कता हो ?
पार्टीलाई फुटबाट बचाउन अहिले देखिएको विवाद र कटुतालाई विराम लगाउनु नै एकमात्र विकल्प हो । जहाँ छौं, त्यहीबाट अगाडि बढेर होइन, अब शून्यमा फर्केर संवाद बढाउनुपर्छ । पार्टीलाई फुटाउने र अलग बनाउने जस्ता क्रियाकलाप र सोचको विरुद्धमा म उभिनेछु।
पार्टी निकै कठिन अवस्थामा पुगिसकेको देखिन्छ । कसरी जोगिएला ?
यो अवस्थालाई कता लैजाने भन्ने विषय नेकपाका नेताहरुकै हातमा छ । त्यही भएर मैले शून्यमा फर्कनुपर्छ भनेको हुँ । जुन ठाउँमा पुगेका छौं, त्यहाँबाट अगाडि बढेर अब मिल्दै मिल्दैन। केही समय केही नगर्ने अनि शून्यमा फर्किएर संवाद गर्नु नै उत्तम विकल्प हो।
शून्यमा फर्कने अवस्था देख्नुहुन्छ ?
पछाडि नफर्किए नेपालका कम्युनिष्टहरुको हालत पश्चिम बंगालको जस्तो हुन्छ । यस्तो वेलामा नेता मात्रै होइन, सबै कार्यकर्ता एकजुट हुनुपर्छ । नेतालाई दोष दिएर पन्छिएर हुँदैन। पार्टी संकटमा पुग्दा सबै बराबर हैसियतका हुन्छन् । कम्युनिष्ट पार्टीमा बराबर भनेको प्रमाणित गर्ने वेला पनि यही हो । सबै जिम्मेवार भए अहिलेको समस्या समाधान हुन्छ । अहिले नेकपाका कार्यकर्ता एउटा–एउटा नेताको पछाडि लागेर रिस र कुण्ठा पोख्ने, जे मन लाग्यो त्यही गर्दै जाने हो भने नेपालमा कम्युनिष्ट सिद्धिन्छ।
प्रष्ट दुई लाइनको मनोविज्ञान बनिसकेको अवस्थाबाट पार्टी एकजुट कसरी होला ?
जस्तो स्थिति भए पनि अहिलेसम्म बिग्रिसकेको छैन । भत्काउने र बिगार्ने नै हो भने पनि अहिले नै किन त ? तत्कालका लागि युद्धविराम गरौं र नेताहरूले शान्त भएर केही समय सोचौं । यसले शून्यमा फर्कन सजिलो हुन्छ र नयाँ ढंगले संवाद अगाडि बढाउन सक्छौं।
शून्य अवस्था भन्नाले ?
अहिले पार्टी विभाजन टुप्पोमै पुगिसकेको छ । अहिले रहेको विवादलाई सर्लक्कै यही ठाउँमा छाडिदिएर पछाडि फर्कनु नै शून्य विन्दुमा पुग्नु हो । जहाँ पुगेपछि फेरि पार्टीलाई कसरी अगाडि बढाउने भन्ने उत्साह हुन्छ र समस्या समाधान गर्ने नयाँ शिरा फेला पर्छ । अहिले जहाँ छौं, त्यही बसेर कुराकानी गरिरहने हो भने गिजोलिने मात्र भयो, कहिल्यै नटुंगिने भयो । एकीकृत पार्टीलाई फेरि छुट्टाछुट्टै बनाउने त सोच्नै हुँदैन।
तर, अहिलेकै नेताहरू एक ठाउँ बसेर सँगै काम गर्न सकिंदैन भन्ने निष्कर्ष नै निकालिएको अभिव्यक्ति आउन थालेका छन् नि !
काम गर्ने यही समूहमा हो । यसको विकल्प के छ त ? अहिले हाम्रो तहका नेताहरुले हस्तक्षेप गर्नुपर्छ भन्ने कुरा उठिरहेको छ । त्यो हस्तक्षेप भनेको यही अहिलेकै एकीकृत पार्टीमा रहेका सबै नेता मिलेरै काम गर्न सकिन्छ भन्ने बुझाउनु हो । त्यो गरिन्छ । अहिले एउटा पक्षले अर्कोलाई विभाजन गर्न खोजिरहेको भन्ने आरोप लगाइरहेको छ । त्यो शंका र अविश्वासले अवस्था झनै बिग्रन्छ।
अध्यक्षद्वयबीच पार्टी एकीकरणका वेला २ जेठ २०७५ मा भएको सहमतितर्फ फर्कौं भन्ने प्रस्ताव आएको सुनिन्छ। यो प्रस्तावले अहिलेको गाँठो फुकाउला ?
त्यो प्रस्तावबारे मलाई थाहा छैन । तर, त्यहाँ फर्केर समाधान हुन्छ भने त्यसलाई पनि मानौं । त्यसले समाधान गर्दैन भने त्योभन्दा पछाडि पनि पर्खन सक्नुपर्छ । २ जेठ २०७५ को होस् वा ४ मंसीर २०७६ को सहमति होस्, जुन विन्दुलाई पनि शून्य मान्न सकिन्छ। जहाँ जुन अवस्थामा सहमति जुट्छ, त्यहाँसम्म फर्कनुको विकल्प छैन।
पूर्व एमाले र पूर्व माओवादी दुवै समूहका नेताहरुलाई फुटको नमीठो अनुभव राम्ररी थाहा छ । यति हुँदाहुँदै अब एक ठाउँमा बस्न सकिंदैन भन्ने मानसिकता केले बढाइरहेको छ ?
अहिलेको पार्टी फुटाएर फेरि पार्टी बनाउँछु र सरकार चलाउँछु भन्ने कसैले सोचेको छ भने त्यो संभव छैन । त्यो कदम चाले कम्युनिट आन्दोलन फेरि उठ्न सक्दैन । यो पुस्ताले मात्रै होइन, आउने पुस्ताले पनि कुनै हालतमा बचाउन सक्दैन।
किनभने, राजनीतिमा निर्णायक जनता हुन् । निहित स्वार्थका लागि पार्टी फुटाउनेलाई जनताले फेरि अनुमोदन गर्ने र पत्याउनेवाला छैन । अहिले झन्डै दुई तिहाइको जनमत पाउँदा समेत नगरेको कम्युनिष्टले कहिल्यै गर्दैन भन्ने बुझाइ जनतामा विकसित हुनेछ । त्यसवेला केपी ओली, माधव नेपाल र पुष्पकमल दाहालहरुले गरेनन् भन्ने हुँदैन, सिङ्गो कम्युनिष्ट पार्टीले नै केही गर्न सक्दैन भन्ने कुरा स्थापित हुन्छ। जसरी पश्चिम बंगालसहित संसारका विभिन्न देशहरुमा कम्युनिष्ट आन्दोलन सकियो, त्यसैगरी नेपालमा कम्युनिष्ट सकिन्छ।
प्रस्तुति: सइन्द्र राई