आख्यानमा युद्धको खाटा
उपन्यासः सुनको पहाड लेखकः विष्णु भण्डारी प्रकाशकः फिनिक्स बुक्स पृष्ठः ३०० मूल्यः रु.३९५
माओवादी युद्ध अर्थात् ‘गोल्डेन वार’ । युद्धको उद्गम रुकुम र रोल्पाको नाम किन्दोर । ‘सुनको पहाड’ अर्थात् साम्यवादको खोजी । यति बुझेपछि विष्णु भण्डारीको उपन्यास ‘सुनको पहाड’ लाई अथ्र्याउन सकिन्छ । तर, उपन्यासको प्रमुख विषय भने बेपत्ता परिवारको पीडा हो ।
उपन्यासमा अनौठा ठाउँ छन् । ती नाम नेपाली भाषा र जनजिब्रोसँग नजिक छन् । खोमजोङ उपत्यकाबाट पाँच कोस टाढाको मालुङ गाउँबाट उपन्यास शुरू हुन्छ । मालुङ गाउँ किन्दोर प्रदेशमा पर्छ । तर, खोमजोङ उपत्यका कहाँ पर्छ पाठकले खुट्याउन सक्दैनन् । काल्पनिक ठाउँको प्रयोग गरेर नेपाली समाजको कथा भन्नुको जोखिमलाई लेखकले सम्बोधन गर्न सकेका छैनन् । पाठकलाई लेखकले भनेकै ठाउँमा पु¥याउन बारम्बार गरिने चार दिशाको बयानले झनै अलमल्याउँछ ।
उपन्यासकी नायिका कञ्चनले देखेको सपनाबाट गोल्डेन वार शुरू हुन्छ । कञ्चन त युद्धमा निस्किसकेकी हुन्छे । सपना भने तान्त्रिकले बताउँछ । अर्थात् ‘जनयुद्ध’ र तान्त्रिक विद्यालाई उपन्यासकारले अस्वाभाविक ढंगमा जोडेका छन् । उपन्यासको पृष्ठभूमि यति मात्र हो ।
गोल्डेन वारको सपना देखेको २० वर्षपछि कञ्चन बेपत्ता श्रीमान् खोज्न निस्किन्छे । यहीँबाट उपन्यास शुरू हुन्छ । अर्थात्, यो पुस्तक ‘पोष्ट वार’ कथा हो ।
कञ्चन खोमजोङ उपत्यका पुग्छे, जहाँ भेटिएका मृतात्मासँग गफिन्छे । यसरी लेखकले अन्धविश्वासलाई आधार बनाएर उपन्यासको शुरूआत गरेका छन् । अन्धविश्वासलाई ‘जादुयी यथार्थवाद’ सँग जोड्ने प्रयास छ ।
उपन्यासमा अधिकांश कथा लेखक स्वयम्ले वाचन गरेका छन् । बीचका दुई अध्यायमा कर्णेल धीरजंग र गोल्डेन वारमा बेपत्ता पारिएको वरुण पनि कथावाचकका रूपमा देखापर्छन् । उपन्यासका यी अध्याय निकै सशक्त र यथार्थ नजिक छन् ।
धीरजंग क्रूर सैन्य कमाण्डर हो । उसले धेरैको हत्या गरेको हुन्छ, धेरैलाई बेपत्ता पारेको हुन्छ । किन्दोरका मान्छे विद्रोहमा सामेल हुनुमा उसको अत्याचार पनि कारण हो । तर, उसको जीवनको उत्तराद्र्ध जर्जर छ । उसले श्रीमती गुमाउँछ । एक्लो छोरोलाई बेपत्ता पारिन्छ ।
उपन्यासकारले यहाँ विद्रोही र सत्तापक्ष दुवैको बेपत्ता परिवारको पीडा उतारेका छन् । कैयौं मान्छेलाई बेपत्ता बनाएको धीरजंग आफ्नै छोरो बेपत्ता हुनुको पीडामा छट्पटिएको छ । तर, लेखकको सहानुभूति विद्रोही पक्षतिरै छ, सुरक्षाकर्मीका परिवारप्रति भने कठोर भाषाको प्रयोग छ ।
धीरजंगको आत्मवृत्तान्तमा युद्धको यथार्थ वर्णन छ । कर्णेल धीरजंगले आफ्नो आत्मकथा मार्फत युद्धको क्रूरताको वर्णन गरेको छ । यहाँ १० वर्षे जनयुद्धमा सैन्य ब्यारेकमा भएका अमानवीय यातनाको चित्रण छ ।
धीरजंगको आत्मवृत्तान्तकै आधारमा कञ्चन र सचिन वरुणको चिहान खोज्न निस्कन्छन् । यो भागमा डरलाग्दो वातावरणको सफल बयान छ । तर, यहींबाट ‘जादुयी यथार्थ’ प्रयोगका लागि लेखक बरालिएका छन् । एउटा तान्त्रिकले दिएको बुटीले ठूलो शक्ति प्राप्त हुन्छ । चमत्कारी चाबीले असम्भव काम पूरा हुन्छ । जादुयी यथार्थका लागि मिथ वा लोककथाहरू प्रयोग गर्नुको साटो धर्मको सहारा लिंदा लेखक चिप्लिएका छन् । लेखकलाई उपन्यास ग्राबियल गार्सिया मार्खेजले ‘वान हन्ड्रेड इयर्स अफ सोलिच्युड’ जस्तो बनाउने लोभ देखिन्छ ।
तान्त्रिक फुर्वा अचम्मको पात्र छ । ऊ आफ्नै आमाको श्रापले २४५ वर्ष बाँचिसकेको छ । अनि ऊ कञ्चनलाई नै कुरेर बसेको छ, जो आएपछि मात्र फुर्वाको मृत्यु हुने आमाको श्राप छ ।
लेखकले जादुयी यथार्थका लागि खडा गरेको नयाँ संसार भने सुहाउँदिलो छ । वरुणलाई खोज्न निस्किएका कञ्चन र सचिन अनौठो संसारमा पुग्छन्, जहाँ युद्धमा घाइते भएर बीचैमा छाडिएकाहरू भेटिन्छन् ।
काल्पनिक ठाउँ र काल्पनिक पात्रहरूको बयान गर्दागर्दै लेखकले कवि इच्छुक, क्याप्टेन यज्ञबहादुर थापा, चुनु गुरुङ, बेनोज जस्ता वास्तविक पात्र पनि उपन्यासमा घुसाएका छन् । ती पात्र नल्याइएको भए नै उपन्यासको मृतात्मा समेत भेटिने र तान्त्रिकको भविष्यवाणी मिल्ने काल्पनिक संसारलाई न्याय हुन्थ्यो ।
बेपत्ता पारिएको वरुणलाई जिउँदो देखाउन लेखकले कथा निकै घुमाएका छन् । वरुण जिउँदो हुँदा नै उपन्यासले रहस्य कायम गर्न सकेको छ । उसलाई हत्या गर्नका लागि गोली पनि पड्कन्छ तर, ऊ सकुशल हुन्छ । बरु उसलाई युद्धबन्दीको रूपमा अपरिचित सेनालाई हस्तान्तरण गरिन्छ । वरुणले आफू घाइते भएर कोमामा पुगेको अवस्थालाई आफू ‘झुसिल्कीरा’ भएको बताएको छ । यहाँ लेखकले ‘लार्भा’ लेख्न खोजेका हुन् । बेपत्ता पात्र कोमामा गएको अवस्थालाई उनले समय परिवर्तनसँग जोडेका छन् ।
कोमाबाट ब्युँझिएर वरुण शहर पुग्दा मात्र उसले शान्ति प्रक्रिया शुरू भइसकेको थाहा पाउँछ । त्यसमा भाग लिने योद्धा कोही वैदेशिक रोजगारीमा जान फारम भर्ने लाइनमा छन्, कोही जागिरको खोजीमा लागेका छन् । उनीहरू गोल्डेन वार सम्झन पनि चाहँदैनन्, मानौं त्यस्तो कुनै युद्ध भएकै थिएन । गोल्डेन वारको कुरा गर्नेलाई पागल ठान्छन् ।
गोल्डेन वारका नेता भने मन्त्री भएका छन् । पुराना राजाको ठाउँमा नयाँ राजा छन् । एकअर्काका दुश्मन भएर मर्न र मार्न तम्सिनेहरू अँगालो हालेका छन् । सँगै युद्ध लडेका साथी भने उसलाई ‘भूत’ ठान्छन् । बाटो बिराउँदा विगतले नै नेतालाई तर्साएको छ ।
वरुण फर्किएर किन्दोर प्रदेश पुग्छ । सुनको पहाड खोज्ने यात्रा जारी राख्न चाहन्छ । ऊ सुनको पहाडको खोजीलाई एउटा लामो यात्रा भएको बताउँछ ।