बमजनलाई पक्राउ गर्न असफल भएपछि फरार प्रतिवादी बनाएर बलात्कारको मुद्दा दर्ता
आफ्नै आश्रमकी नाबालिक अनुयायीलाई बलात्कार गरेको जाहेरी परेपछि प्रहरीको सर्वाधिक खोजीमा रहेका तपस्वी दाबी गर्ने रामबहादुर बमजन विरुद्ध शुक्रबार सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले जबर्जस्ती करणीमा १४ वर्ष कैद सजाय मागदाबीसहित मु्द्दा दर्ता गरेको हो । बमजनलाई फरार प्रतिवादी कायम गर्दै मुद्दा दर्ता भएको हो।
प्रहरीले ४ असारमा उनलाई पक्राउ गर्न सिन्धुलीस्थित आश्रममा छापा मारेको थियो । यसअघि गएको माघ अन्त्यमा समेत सिन्धुली प्रहरीले सर्लाही प्रहरीको अनुरोधमा बमजन पक्राउ गर्न उनको आश्रममा छापा मारेको थियो।
त्यसबेला प्रहरी महानिरीक्षकको सचिवालयबाट सूचना चुहिएपछि बमजन भाग्न सफल भएका थिए । यही वर्ष पुसमा समेत प्रहरीले बमजन समाउन प्रयास गरेपनि असफल भएको थियो।
प्रहरीले विशेष सुरक्षा दिएर गोप्य स्थानमा राखेकी एक बालिका केही दिनअघिमात्र १८ वर्ष पूरा भएपछि उनले जाहेरी दर्ता गराएकी छन् । उच्च प्रहरी अधिकारीका अनुसार यी सबै प्रयास अदालतमा मुद्दा बलियो बनाउन समेत भएका थिए । फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरेपछि इजलासले पक्राउ गर्न प्रहरीले गरेका प्रयासको विषयमा सोध्ने भएकाले यसो गरिएको हो।
केन्द्रीय अनुसन्धान ब्यूरोले सर्लाहीमा दर्ता रहेको नयाँ घटनाको अनुसन्धानका लागि बमजनलाई पक्राउ गर्ने प्रयास गरेको थियो। बमजन सिन्धुलीस्थित आश्रममा रहेको विशेष सूचनापछि त्यहाँ पुगेको ब्यूरोको टोलीले घण्टौं लगाएर सो क्षेत्रमा खोजी गरेको थियो, तर बमजन भेटिएनन्।
बमजन विरुद्ध चारजना पुरुष र महिला बेपत्ता बनाएको आरोपमा थप तीन जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सिन्धुपाल्चोक आश्रमबाट फुलमाया रुम्बा पासाङ हराएको भन्दै खोजिदिन भाइ विजय रुम्बाले निवेदन दिएका छन्। उनले दिदी सम्पर्कविहीन भएकाले खोजिदिन भन्दै निवेदन दिएका हुन्।
विजयले दिएको निवेदनमा फुलमायासँग अन्तिम पटक २०७१ माघमा सम्पर्क भएको थियो। उनले विजय बाहेक छरछिमेकीसँग समेत कुरा गरेकी थिइन्। लामो समय दिदीको खबर नआएपछि विजयले आश्रममा सोधखोज गरेका थिए। आश्रमले उनी छाडेर हिंडेको जवाफ दिंदै आएको छ।
यस्तै नुवाकोट प्रहरीमा परेको निवेदनमा घर आएकी फुलमाया 'सिन्धुली आश्रम जान्छु भनेर हिंडेको' उल्लेख छ। नुवाकोट मेघान गाउँपलिकाकी चिनिमायाँ तामाङ २०६९ सालमा घर आएकी थिइन्। चुन्मा र कर्मा भनेर बोलाइने उनी तपस्वी बमजनको आश्रममा आनी थिइन्। नुवाकोट प्रहरीमा दिदी गंगामायाले बहिनी खोजिदिन निवेदन दिएकी हुन्।
यी दुईसँगै मकवानपुरका सञ्चलाल वाइबा र बाराका सुरेश आलेमगर बमजनकै आश्रमबाट हराएकोले खोजीदिन प्रहरीमा निवेदन परेको हो।
बमजनको आश्रमबाट २०६९ देखि २०७२ बीचमा चारजना अनुयायी हराएको निवेदन तीन जिल्लाका प्रहरी कार्यालयमा दर्ता छ।
बारामा सुरेश आलेमगर, मकवानपुरमा सन्चलाल वाइबा र फुलमाया रुम्बा (पासाङ) र नुवाकोटमा चुल्मा र कर्मा भनेर बोलाइने चिनिमायाँ तामाङ हराएको भन्दै खोजिदिन आफन्तले निवेदन दिएका हुन्।
सरकारले २६ माघ २०७४ मा मन्त्रिपरिषद् निर्णयबाट तपस्वी बमजनको बाराको हल्खोरियास्थित आश्रम क्षेत्रलाई धार्मिक वनक्षेत्र घोषणा गरेको थियो। सरकारको यो निर्णयले विवादमा आइरहने तपस्वी बमजनलाई सरकारले क्लिन चिट दिएको थियो।
२ जेठ २०६२ देखि उनले शुरु गरेको निराहार तपस्या ६ वर्षपछि २०६८, २ जेठमा सकिएपछि उनी चर्चामा आएका थिए। बाराको जंगलमा उनी तपस्या गर्दै गरेको सार्वजनिक भएपछि उनलाई ‘लिटिल बुद्ध’ को उपनाम दिएर समाचार आउन थालेको थियो।
तर यो तथ्य नै मिथ्या भएको भन्दै त्यसबेला नै उनी विवादमा आएका थिए। उनी ध्यान गर्नुअघि भारतका विभिन्न बौद्ध धार्मिक स्थल गएको भनिएको थियो। तर उनी पोखराको एउटा चामल मिलमा काम गर्दा घाइते भएपछि घरमै बसेको तथ्य बाहिर आएको थियो।
त्यसपछि ७ वर्षसम्म सर्वसाधारण र परिवारका सदस्यलाई बन्धक बनाई कुटपिट गरेको अर्को विवादमा तपस्वी बमजन मुछिएका थिए। त्यसपछि विदेशी नागरिकलाई बन्धक बनाएको, वन क्षेत्रका विषयमा विवाद गरेको र बलात्कार तथा हत्यासम्मको आशंका उनीमाथि हुँदै आएको हो।
आफूलाई महासम्बोधी धर्म संघ गुरु भन्ने बमजनले तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालासँग बालुवाटारस्थित सरकारी निवासमा भेट गरेका थिए। बारा रतनपुरको सामान्य परिवारका बमजन विवाद शुरु भएपछि नयाँ गन्तव्यमा जाने र जंगल क्षेत्रमा आश्रम बनाएर बस्ने गरेका छन्।
उनका बाराको हल्खोरिया जंगल, सिन्धुली, नुवाकोट, सिन्धुपाल्चोक र मकवानपुरमा आश्रम रहेका छन्।