गुल्मीमा पहिरो, दुई जनाको मृत्यु
गुल्मीमा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।
इस्मा गाउँपालिका-१ मल्दीका वसन्त सारुका १८ महीनाका छोरा सुरज सारु र निस्ती ढाँडफाँटकी ७ वर्षीया बालिका अपिक्षा खत्रीको मृत्यु भएको हो। गए राति खसेको पहिरोमा घाइते भएकी बालिकाकी आमा ईश्वरा खत्रीलाई स्थानीयले उद्धार गरेका थिए । आमासँगै भाग्ने क्रममा बेपत्ता भएकी बालिकाको शव शुक्रबार बिहान खोला किनारमा भेटिएको हो।
गुल्मीमै बाढीले होटल बगाउँदा होटलमा बास बसेका मुसिकोट नगरपालिका-२ का भागीरथ घिमिरे बेपत्ता भएको वडाध्यक्ष लक्ष्मण खत्रीले जानकारी दिए। उनका अनुसार, बाढीको जोखिममा रहेका निस्तिका करीब २० जनालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।
भीषण वर्षापछि पहिरो खस्दा गुल्मीका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । मुसिकोट-७ का दुई लघु जलविद्युत् आयोजना पनि अवरुद्ध भएका छन्।
- अनिश शर्मा गैरे, गुल्मी