चिकित्सक नहुँदा याैनाङ्गमा काेदालोको बिंड हालिएको बालिकाको शल्यक्रिया हुन सकेन
यौनाङ्गमा कोदालोको बिंड हालेर घाइते भएकी ९ वर्षीया बालिकाको दोस्रो शल्यक्रिया अहिलेसम्म हुन सकेको छैन।*
घाइते बालिकाको थप उपचार प्रदेश नम्वर ५ को सामाजिक विकास मन्त्रालयले गर्ने जिम्मा लिएर बालिकालाई एक गैर सरकारी संस्थाको संरक्षण गृहमा राखिएको थियो।
मन्त्रालयकी सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्यालका अनुसार, १५ असारमा दोस्रो शल्यक्रिया गर्ने तय भएकोमा लुम्विनी प्रादेशिक अस्पताल वुटवलमा बाल रोग विशेषज्ञ शल्य चिकित्सक नभएका कारण दोस्रो शल्यक्रियामा ढिलाई भएको हो।
सामाजिक महाशाखा प्रमुख बस्यालले आम्दा अस्पताल वुटवल वा यूनिभर्सल मेडिकल कलेज कहाँ गर्ने भनेर परामर्श चलिरहेको बताइन्।
“बच्चाको अप्रेशन गर्ने बाल विशेषज्ञ सर्जन नभएका काराण शल्यक्रिया हुन सकेको छैन, मन्त्रीज्यूले पनि वाल विषेशज्ञ सर्जन भएको भए राम्रो हुन्थ्यो भन्ने छ,” बस्याल भन्छिन् “मेडिकल कलेजमा गर्ने कि अन्यत्र गर्ने अब निर्णय गर्दछौं।”
रुपन्देहीको तिलोत्तमा १० शान्तिनगरकी १४ वर्षीया बालिकालाई २६ वैशाखमा सोही ठाउँका १४ वर्षीय बालकले जबरजस्ती आफ्नो घरमा लगेर यौनाङ्गमा कोदालोको बिंड हालेपछि याेनी क्षतविक्षत भएको थियो।
गाउँलेले चन्दा उठाएर पहिलो चरणको उपचार गरेका थिए। तर, दोस्रो पटकको उपचारका लागि भएको आर्थिक अभाव बारेको समाचार हिमालखबरमा प्रकाशित भएपछि विभिन्न क्षेत्रका व्यक्तिहरूले उनको उपचारका लागि चासो राखेका थिए।
*सच्याइएकाे समाचार
सम्बन्धित समाचारः यौनाङ्गमा जबरजस्ती कोदालोको बिंड हालिएपछि घाइते बालिकालाई थप उपचारका लागि पैसाको अभाव