लिग च्याम्पियन लिभरपुलको दोस्रो हार, म्यान सिटी ४-० ले विजयी
अघिल्लो साता मात्र इङ्लिस प्र्रिमियर लिग (ईपीएल) च्याम्पियन भएपछिको पहिलो खेलमा नै लिभरपुल गत वर्षको च्याम्पियन म्यानचेस्टर सिटीसँग ४-०ले पराजित भएको छ । जारी लिगमा लिभरपुलको यो दोस्रो हार हो ।
च्याम्पियन भएपछि खेलको सुरुवातमै म्यानचेस्टर सिटीबाट पाएको 'गार्ड अफ अनर' अन्त्यमा फिक्का भएको थियो । सिटीका लागि २५औँ मिनेटमा नै केभिन डि ब्रुयनले पेनाल्टी गोल गर्दै सिटीलाई अगाडि बढाएका थिए । त्यसपछि रहिम स्ट्रलिङ, फिल फोडेनले गोल गर्दा सिटी पहिलो हाफ अगाडि नै तीन गोलले अघि बढ्यो ।
दोस्रो हाफमा लिभरपुलका अक्सलेड चाम्बरलेनले आत्मघाती गोल गरेका थिए । यसअघि जारी लिगमा लिभरपुल वाटफोर्डसँग अप्रत्याशित रुमा तीन गोल बेहोर्दै पराजित भएको थियो । उक्त खेल वाटफोर्डको घरेलु मैदानमा २९ फेब्रुअरीमा भएको थियो ।