खुमा अर्याललगायतलाई पक्राउ गर्ने बाटो खुला
गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमाप्रसाद अर्यालसहित ९ जनालाई पक्राउ गर्ने बाटो खुलेको छ ।
उच्च अदालत पोखराका मुख्य न्यायाधीश कुमार चुँडाल र न्यायाधीश रामचन्द्र पौडेलको इजलासले बुधबार र बिहीबार बहसपछि जिल्ला अदालत कास्कीको अनुमतिमा प्रहरीले जारी गरेको पक्राउ पुर्जीमा अन्तरिम आदेश दिन नमिल्ने ठहर गरेको हो ।
२२ फागुनमा कलेजका सञ्चालक खुमा अर्यालसहित १० जनाविरुद्ध विद्यार्थीले ठगीको आरोपमा उजुरी दिएका थिए । लगत्तै प्रहरीले २३ फागुन कलेजका पूर्व प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल र कर्मचारी लक्ष्मणप्रसाद शर्मालाई पक्राउ गरी प्रहरीले मुद्दा दायर गरेको थियो ।
प्रहरीले सञ्चालक अर्यालसहित आरोपित १० जनालाई नै पक्राउ पुर्जी जारी गरेको थियो ।
कलेजका सञ्चालक अर्यालसहित ६ जनाले प्रहरीले जारी गरेको पक्राउ पुर्जीविरुद्ध २३ फागुनमा उच्च अदालत पोखरामा निषेधाज्ञाको माग गर्दै रिट दर्ता गराएका थिए ।
रिट माथिको बहसपछि न्यायाधीशद्वले यस विषयमा अन्तरिम आदेश दिन नमिल्ने आदेश दिँदैं प्रचलित कानून अनुसार प्रहरीलाई कारवाही अघि बढाउन स्वीकृति दिएका छन् ।
अदालतले यस्तो ठहरले प्रहरीले ठगीको आरोपमा पक्राउ पुर्जी जारी भएका कलेज सञ्चालक अर्यालसहित बाँकी ९ जनालाई पक्राउ गर्ने बाटो खुलेको छ।
बहसमा अर्यालको तर्फबाट बरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, पूर्णराज राजवंशी र दीपक पौडेलले बहस गरेका थिए ।
विद्यार्थीको तर्फबाट बरिष्ठ अधिवक्ता तिलक पराजुली, ओमप्रकाश अर्याल, भगवती पहारीले बहस गरेका थिए ।