स्थानीय मेलाबाट हराएको दुई वर्षपछि पत्रकार खड्काको निधन भएको पुष्टि
डोटीका स्थानीयवासी तथा पत्रकार तेजबहादुर खड्का बेपत्ता भएको दुई वर्षपछि निधन भएको पुष्टि भएको छ । उनी दुई वर्षअघि बाजुराको बुढीनन्दा मेलाबाट बेपत्ता भएका थिए ।
खड्का बेपत्ता भएपछि नेपाल पत्रकार महासङ्घ केन्द्रीय टोली, सुरक्षाकर्मी तथा स्थानीयवासीले खोजी गरेका थिए । बेपत्ता भएको एक वर्षपछि मंसीर २०७६ मा बुढीनन्दा जङ्गलमा मानव कङ्काल भेटिएको थियो । उक्त मानव कङ्काल नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षणका लागि पठाइएको थियो।
परीक्षणपछि कङ्काल पत्रकार खड्काकै रहेको पुष्टि भएको खबर आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख टङ्कप्रसाद भट्टराईले बताए । उनले भने, “खोजबिन टोलीले पाएको मानव कङ्काल डीएनए परीक्षणका लागि हाम्रो विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो, परीक्षणपछि रिपोर्ट हेर्दा खड्काकै कङ्काल भएको पुष्टि भएको छ।”
उनी ९ भदौ २०७५ मा बुढीनन्दामा लागेको मेलाबाट फर्कने क्रममा वरमाग्ने भन्ने डाँडाबाट एकाएक बेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा एक वर्षपछि दुई वटा करङ, झोला र परिचयपत्र भेटिएको थियो । पत्रकार खड्का दिपायल सिलगढी नगरपालिका–१ तिखा घर भई रेडियो बुढीनन्दा बाजुरामा बजार व्यवस्थापक थिए।
उनी नेपाल प्रेस युनियन डोटीका संस्थापक अध्यक्षसमेत हुन् । उनी रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दिपायल हुँदै रेडियो नेपालकै केन्द्रीय प्रसारण केन्द्रमा समेत लामो समय कार्यरत थिए।