बार्सिलोना बराबरीमा रोकियो, रियल मड्रिडको अग्रता कायमै
स्पेनिस ला लिगामा बार्सिलोना एटलेटिको मड्रिडसँग बराबरी खेलेको छ। उपाधि दौडमा रहेको बार्सिलोना मंगलबार रातिको खेलमा बराबरीमा रोकिए सँगै दुई अंक गुमाएको छ।
एटलेटिको मड्रिडले आत्मघाती गोल गर्दै बार्सिलोनालाई अग्रता मिलेको थियो। डियगो कोस्टाले आत्मघाती गोल गरेपछि बार्सिलोनाले लिएको अग्रता धेरैबेर भने टिक्न सकेन।
११औं मिनेटमा बार्सिलोनाले लिएको अग्रता एटलेटिको मड्रिडले १९औं मिनेटमा बराबरी गर्यो। एटलेटिको मड्रिडले पेनाल्टी मार्फत गोल गरेको थियो। दोस्रो हाफमा फेरि बार्सिलोनाले पेनाल्टीकै अवसर पायो।
पेनाल्टी मार्फत गोल गर्दै लियोनेल मेसीले आफ्नो खेल करिअरमा सात सय गोल पूरा गरे भने बार्सिलोनालाई पनि अग्रता दिलाए। तर, १२ मिनेट पछाडि फेरि एटलेटिको मड्रिडले गोल गर्दै खेल बराबरीमा ल्याए। यसपटक पनि एटलेटिको मड्रिडले पेनाल्टी मार्फत् नै गोल गरेको थियो।
एटलेटिको मड्रिडका लागि दुवै गोल सउल निगुएजले गोल गोल गरे। यसपछि दुवै टीमबाट गोल हुन नसक्दा अंक बाँडिएको छ। बार्सिलोनाले बराबरी खेल्दा रियल मड्रिडलाई भने उपाधि यात्रा बलियो बनाउने अवसर मिलेको छ।
एक खेल बढी खेलेको बार्सिलोनाले ३३ खेलबाट ७० अंक जोडेको छ भने रियल मड्रिडले एक खेल कम खेल्दै ७१ अंक सहित शीर्ष स्थानमा कायमै राखेको छ। रियल मड्रिड शुक्रबार गेटाफे विरुद्ध भिड्दैछ।