के हुँदैछ मेलम्चीको मुहानमा ? [भिडिओ रिपोर्ट]
शब्द तथा भिडिओ: सुरेन्द्र फुयाल
राष्ट्रिय गौरवका आयोजनाहरूमध्येको एक मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौंवासीले पर्खन थालेको वर्षौं भयो ।
रु.३१ अर्बभन्दा बढी लागत पुग्न लागेको यो आयोजना निर्माणको गति भने सुस्त रहँदै आएको छ।
गएको १७ कात्तिक २०७६ मा चिनियाँ कम्पनी सिनोहाइड्रोले मेलम्चीको मुहानको ‘हेडवर्क्स’ निर्माणको ठेक्का पाएपछि आयोजनाको अन्तिम चरणको कामले गति लिन थालेको छ। यो काम यही असार मसान्तभित्र सकिने नेपाली अधिकारीहरूको आशा रहेकोमा कोभिड-१९ महामारीका कारण ढिलाइ भएको छ।
आयोजनाका अधिकारीहरुका अनुसार, सुरुङको काम लगभग पूरा भइसकेको छ र मुहानको काम सक्न अर्को ६ महीना लाग्न सक्छ। मुहान निर्माणस्थल सिन्धुपाल्चोकको अम्बाथान क्षेत्रमा करीब ७० जना कामदार दैनिक खटिइरहेका छन्।
निर्माण पूरा भएपछि मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा झर्न थाल्नेछ।
(बीबीसी नेपाली सेवामा लामो समय काम गरेका फुयाल हाल स्वतन्त्र पत्रकार छन्।)