प्रधानमन्त्रीको राजीनामा : प्रम स्वयंले अजेण्डा दिए, स्थायी कमिटीले छलफल थाल्याे
१४ असारकाे एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफूलाई भारतले हटाउन खाेजेकाे’ अभिव्यक्ति दिएपछि जारी नेकपाकाे स्थायी कमिटीकाे बैठकमा मंगलबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ‘पार्टीकाे प्रतिष्ठा खस्काएकाे’ भन्दै अध्यक्ष र प्रधानमन्त्री दुवै पद छोड्नुपर्ने माग गरेका छन्।
गएको आइतबार काठमाडौंमा आयोजित मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतीय दूतावास आफूलाई हटाउन सक्रिय भएको र नेपाली नेताहरु लागिपरेका बताएका थिए। स्रोतका अनुसार, मंगलबारको बैठकमा दाहालले प्रधानमन्त्रीको अभिव्यक्तिबाट पार्टीकै प्रतिष्ठा खस्कन पुगेको बताएका थिए।
जवाफमा प्रम ओलीले पार्टी बैठकमा भएको कुरा हुबहु दिल्लीका मिडियाहरुमा आउनुको कारण सोधेका थिए। बैठकमा ओली–दाहालबीच भनाभन नै भएको छ।
प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद रोज्न ओलीलाई सुझाव दिंदा प्रमले नेपालको नक्शा जारी गर्ने विषय नउठाएको दाहालको भनाइ थियो। १७ वैशाखको सचिवालय बैठकमा प्रधानमन्त्री छोड्नुपर्ने प्रस्ताव आएको प्रसंग दाहालले सम्झाएका थिए।
तर, २६ वैशाखमा भारतले नेपालको भूमि अतिक्रमण गरी चीनको मानसरोवर जोड्ने सडक उद्घाटन गरेपछि प्रधानमन्त्रीको राजीनामाको विषय ओझेलमा परेको थियो।
जेठभर नेकपाको बैठक नेपालको नयाँ नक्शा जारी गर्ने र संविधानको अनुसूचीमा राख्नेबारे केन्द्रित भएको थियो। गएको १० असारमा स्थायी कमिटी बैठकमा भने दाहालले आफूले आलोपालो प्रधानमन्त्री बन्ने सहमति छोड्ने निर्णय गरेर गल्ती गरेको महसुस हुन थालेको बताएका थिए।
यसको चार दिनपछि बालुवाटारमै आयोजित मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारत सक्रिय भएको अभिव्यक्ति दिएपछि फेरि स्थायी कमिटीमा यसबारे छलफल शुरु भएको छ।
प्रधानमन्त्रीले सार्वजनिक रुपमै भारत आफूलाई हटाउन लागिपरेको अभिव्यक्ति दिएपछि बैठकको अजेण्डा किनारा लाग्ने र पार्टीमा नयाँ काेर्स शुरु हुने संभावना बढेको एक नेताले बताए।