कोरोनाभाइरस महामारीको अझ ठूलो संकट आउन बाँकी छः डब्लुएचओ
कोरोनाभाइरस संक्रमितको संख्या विश्वभर एक करोडभन्दा माथि पुगेको छ । छ महीना पहिला मात्र फैलन थालेको यो भाइरसका कारण पाँच लाखभन्दा धेरै मान्छेको मृत्यु भइसकेको छ । तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले योभन्दा खराब परिस्थिति आउन बाँकी नै रहेको चेतावनी दिएको छ ।
डब्लुएचओ प्रमुख टेड्रोस अधनोम घेब्रेएससले विश्वभरका सरकारले संक्रमण कम गर्न ठीक नीतिको पालना नगरे अझ धेरै मानिस संक्रमित हुने बताएका छन् । उनले ‘भर्चुअल ब्रिफिङ’ मा भने, “हामी सबै चाहन्छौँ कि महामारी चाँडै सकियोस् । नियमित दैनिकीमा फर्कन पाइयोस् । तर तीतो सत्य यो हो कि हामी यो महामारीको अन्त्यभन्दा धेरै टाढा छौँ ।”
उनले केही देशले भाइरस नियन्त्रणमा प्रगति गरेको बताए । विश्वस्तरमा भने महामारी फैलने गति झनै बढिरहेको उनको भनाइ छ । घेब्रेएससले भने, “डब्लुएचओले पहिचान गरे अनुसार राष्ट्रिय एकताको कमी, विश्व एकजुट हुन नसक्नु र विश्व अरु विभाजित हुनु जस्ता कारणले कोरोनाभाइरस फैलनमा पद्दत पुगिरहेको छ । त्यसकारण खराब समय आउन बाँकी नै छ ।”
कोरोनाभाइरसकै कारण कयौँ देशमा स्वास्थ्य प्रणाली नै अस्तव्यस्त भइसकेको छ । विश्व अर्थव्यवस्था महामारीकै कारण खराब अवस्थामा पुगिसकेको छ । यस्तो वेला आएको डब्लुएचओको चेतावनी चिन्ताजनक छ ।
घेब्रेएससले जर्मनी, दक्षिण कोरिया अथवा जापानको बाटोमा हिँड्न अन्य देशलाई आग्रह गरेका छन् । अन्यको तुलनामा ती देश कोरोनाभाइरस नियन्त्रण गर्न सफल भएका छन् । यी देशले अधिक परीक्षण र ट्रेसिङबाटै भाइरस नियन्त्रणमा लिन सफल भएको डब्लुएचओको भनाइ छ ।