उसु खेलाडी वीरमान वाइबाको निधन, आजै अन्त्येष्टि
उसु खेलाडी वीरमान वाइबाको आज अन्त्येष्टि गरिएको छ । उनको धार्मिक विधि तथा परम्पराअनुसार स्वयम्भूमा अन्त्येष्टि गरिएको नेपाल उसु महासङ्घले जनाएको छ ।
अन्त्येष्टिअघि वाइबाको शव श्रद्धाञ्जलिका लागि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) मा राखिएको थियो । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिना, राखेप सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीका सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, राखेपका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जन, उसु र क्योकुसिनका प्रशिक्षक, खेलाडीलगायतले वाइबाप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
नेपाली सेनामा आबद्ध उनलाई सेनाले अन्तिम सलामीसमेत दिएको थियो । वाइबाको आइतबार काभ्रेपलाञ्चोकको बेथानचोकस्थित उनकै निवासमा २७ वर्षको उमेरमा निधन भएको थियो ।
वाइबाले सन् २०१८ मा इण्डोनेसियामा सम्पन्न १८औँ एशियाली खेलकूदमा नेपालबाट सहभागिता जनाएका थिए । उनी राखेप च्याम्पियनसिपको पदक विजेतासमेत थिए । शुरुआतमा वाइबा क्योकुसिन करातेका खेलाडी थिए ।
परिवार स्रोतले जनाए अनुसार वाइवा काभ्रेको बेथानचोक गाउँपालिकामा सुतेको स्थानमै मृत भेटिएका थिए । शनिबार बेलुका सामान्य अवस्थामा सुतेका उनी आइतबार बिहान मृत्य अवस्थामा भेटिएका थिए ।