नेकपा र कांग्रेस कार्यकर्ताको झडपमा गोली चल्यो, छर्रा लागेर १८ घाइते
सर्लाहीको धनकौल गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपमा गोली चल्दा छर्रा लागेर १८ जना घाइते भएका छन्।
आइतबार राति भएको झडपमा नेकपाका १५ र कांग्रेसका तीन कार्यकर्ता घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । दुई जना प्रहरीसमेत घाइते भएका छन्।
झडप नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । घटनास्थल अहिले शान्त छ । त्यहाँ व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ।
जिल्लाको रामनगर गाउँपालिकामा नेकपा कार्यकर्ताको हत्या गरिएको विरोधमा धनकौल गाउँपालिकामा आइतबार साँझ ७ बजे मसाल जुलुस निकालिएको थियो । जुलुसमा कांग्रेस कार्यकर्ताले गोली चलाएको नेकपाका स्थानीय नेता अजय सिंहको दाबी छ।
आफ्ना कैयौं नेता तथा कार्यकर्तालाई गोलीको छर्रा लागेको उनले बताए । धेरैलाई लाठीको प्रहारबाट घाइते बनाइएको पनि उनले बताए । घाइतेमध्ये केहीको बरहथवामा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई वीरगञ्जतर्फ पठाइएको छ।
कांग्रेसले भने नेकपाका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको दाबी गरेको छ । नेकपाका कार्यकर्ताले निकालेको मसाल जुलुसले कांग्रेस कार्यकर्ता धिरु बर्माको घरअगाडि टायर बाल्नुका साथै कुटपिट गरेको कांग्रेस नेता एवं प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले जानकारी दिए । नेकपा कार्यकर्ताको कुटाइबाट आफ्ना ६ कार्यकर्ता घाइते भएको उनको भनाइ छ।