स्थानीय तहद्वारा सरकारी कामकाजमा चाम्लिङ, वाम्बुले र तिलुङ राई भाषालाई मान्यता
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सरकारी कामकाजमा थप तीनवटा भाषालाई मान्यता दिएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा चाम्लिङ, वाम्बुले र तिलुङ राई भाषालाई पनि मान्यता दिने उल्लेख गरेको छ ।
वाम्बुले राईको बाहुल्य रहेको वडा नम्बर–१ बाहुनीडाँडा र वडा नम्बर–२ डिकुवामा वाम्बुले भाषा तथा तिलुङ राईको बाहुल्य रहेको वडा नम्बर–३ च्यास्मिटारमा तिलुङ भाषालाई पनि सरकारी कामकाजमा मान्यता दिने नीति ल्याइएको मेयर इवन राईले बताए । “अन्य चलन चल्तीका भाषालाई विस्थापित गर्ने भनिएको होइन, बाहुल्यका आधारमा यी भाषालाई पनि सरकारी कामकाजमा प्रयोग गर्ने लागिएको हो”, उनले भने ।
बाहुनीडाँडा र डिकुवामा अझै पनि खस नेपाली भाषा नबुझ्ने वाम्बुले जातिका स्थानीय भएको उनले जानकारी दिए । भाषा नजान्ने शिक्षकले पठनपाठन गर्न सक्ने अवस्था छैन । मेयर राई भन्छन्, “आफ्नो भाषामा मात्र संवाद गर्ने नागरिकको सहजताका लागि उनीहरुको भाषालाई पनि सरकारी कामकाजमा प्रयोग गर्ने तयारी गरिएको हो ।”
एघार वडा रहेको जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सो नगरपालिकामा ५१ प्रतिशत किराँत राईहरुको बसोबास छ । किराँत समुदायको भाषा, संस्कार र संस्कृतिको अध्ययन अनुसन्धान गरी सांस्कृतिक नगरपालिकाका रूपमा परिचित गराउने लक्ष्यका साथ नगरपालिकाको लेटरहेडमा चाम्लिङ, वडा कार्यालय बाहुनीडाँडा र डिकुवाको लेटरहेडमा वाम्बुले र वडा कार्यालय च्यास्मिटारको लेटरहेडमा तिलुङ लिपि प्रयोग गरिने नगरप्रमुख राईले जानकारी दिए ।
नगरकार्यपालिकाले सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिएको तीनवटै भाषाका ऐतिहासिक कागजात तथा दस्तावेजहरु सङ्कलन गरी पुस्तक प्रकाशन गरिने उपमेयर विमला राई बताउँछिन् । नगरपालिकाले ऐतिहासिक दस्तावेज सङ्कलनका लागि रु.५ लाख, चाम्लिङ भाषाको शब्दकोष निर्माणका लागि रु.३ लाख, चाम्लिङ भाषाको कक्षा सञ्चालनका लागि रु.२ लाख र स्थानीय पाठ्यक्रम निर्माणका लागि रु.२ लाख बजेट विनियोजन गरेको छ ।