उर्मिला भाउजूः मृत्युसम्मै छुटेन भुटानी माटोको टीका
असंख्य संवाद सम्झनामा छन्, खै कहाँबाट शुरु गरेर श्रद्धाञ्जली दिऊँ उर्मिला भाउजू?
झापाको दमकस्थित डा. भम्पा राई र उर्मिला भाउजूको डेरा । तातो पानी भरिएको बोतलले दायाँ पाखुरो सेक्दै उर्मिला भाउजू कोठामा पसिन् । डा. भम्पाको छेउमा मेरो ठीक सामुन्ने बसिन् । छालामा कतैकतै गाढा कालोपना बढेको थियो । अनुहार सुन्निएको, हातखुट्टाको छाला चाउरी परेको, शरीर क्लान्त र दुब्लो, स्वर सुक्दै गएको, ओठ कलेंटी परेका, आँखामा पहेंलोपन बढेको थियो ।
उनीसँग नभेटेको केही महीना भएको थियो । त्यो भेटमा मुख नखोली मतिर हेरेर फिस्स हाँसिन् । गफिएर बसिरहेका डा. भम्पा र मैले एकछिन बोली बिसायौं ।
यही मौकामा उर्मिला भाउजूले उच्च रक्तचापको औषधि खाइरहने मेरी आमाबारे सोधिन् । मेरी श्रीमती, बच्चा र बहिनीहरुको खबर पनि मेलैसँग सोधिन् । त्यसपछि थालमा राखिएको कालो चिया र बिस्कुट खान इसारा गरिन् । अनि भुईंतिर हेर्दै भनिन्, “गोपाल भाइ, अब धेरै बाँच्दिनँ होला ।”
उनका दुवै मिर्गाैला खराब भएका थिए । केही वर्षदेखि डायलासिस गराइरहेकी थिइन् । तर, उहाँको स्वास्थ्य दिनदिनै खस्किरहेको थियो ।
आज परदेशको एउटा कोठामा बसेर यी वाक्य लेखिरहँँदा म डा. भम्पा राई र उर्मिला भाउजूलाई कहिलेदेखि चिन्छु भन्ने सम्झने प्रयासमा छु ।
उनीहरुको डेराका हरेक कोठामा जान मलाई कहिल्यै बन्देज थिएन । डा. भम्पा र उर्मिला भाउजूसँग गफ गरेरै राति अबेरसम्म छतमा बसेको छु। विशेषगरी नेपाल—भुटान १५ औं चरणसम्म वार्ता चलिरहँदा भुटानी पक्षका विषयमा डा. भम्पालाई ‘कोट’ गरिन्थ्यो । यसैले उनीसँग निरन्तर भेट भइरहन्थ्यो ।
काठमाडौं र दिल्लीमा रहेका विभिन्न मुलुकका दूतावासको ठेगाना र सम्पर्क नम्बर जुटाउन, विज्ञप्ति र ज्ञापनपत्र तयार पार्न उनी मलाई बोलाइरहन्थे । भुटानी शरणार्थीको मामिलामा समाचार लेख्दा २५ वर्षअघि आफू कार्यरत पूर्वाञ्चल दैनिक, त्यसपछि स्पेसटाइम दैनिक, उज्यालो ९० नेटवर्कदेखि हिमाल खबरपत्रिकासम्म कयाैं पटक यो दम्पतीलाई कोट गरेको छु ।
काठमाडौं र पश्चिमी मुलुकबाट भुटानी शरणार्थीको समाचार तयार पार्न गएका प्रायः विदेशी पत्रकार मेरो सम्पर्कमा हुन्थे । फ्रेन्च न्युज एजेन्सी एएफपीका साम टेलर, क्लेयर कजिन, फोटो पत्रकार प्रकाश माथेमा, आइरिस पत्रकार डन डन्क्यान, अष्ट्रेलियन शोधार्थी सुसन बाङ्काई, पुलिट्जर विजेता काई वर्ड आदिले राईका उद्धरण (कोट) वा दृष्टिकोण लिंदा म सँगै हुन्थें। अनि छेउमा सधैं उर्मिला भाउजू बसिरहन्थिन्।
उनले एकैछिन बुवाको पेट छामेर मतिर हेर्दै भनेका थिए, “तिम्रो बुवाको एपेन्डिसाइटिस फुटिसकेको छ, तुरुन्त अपरेशन गर्नुपर्छ, नत्र जे पनि हुनसक्छ ।”
पाए भुटान जाने, तर अन्यत्र नजाने अडानमा यो जोडी बुढ्यौली दैनिकी गुजारिरहेको थियो । तर, यी सबै अब सम्झना मात्र भएका छन् । दमकमा डा. भम्पा एक्लै छन्।
मैले थाहा पाउँदा उनीहरुको दमक–१३ (हाल दमक–८) स्थित धनपति संग्रौलाको घरको भुईंतल्लामा डेरा थियो । भुटानबाट आएका नामी डाक्टर छन् भन्ने हल्ला चौदिशा फैलिएको थियो । बुवालाई २ जेठ २०५१ मा एपेन्डिसाइटिस दुखेर मुस्किल भएपछि मैले डा. राईको कोठामा पुर्याएको थिएँ ।
उनले एकैछिन बुवाको पेट छामेर मतिर हेर्दै भनेका थिए, “तिम्रो बुवाको एपेन्डिसाइटिस फुटिसकेको छ, तुरुन्त अपरेशन गर्नुपर्छ, नत्र जे पनि हुनसक्छ ।” उनले बोलाउनासाथ एम्बुलेन्स तुरुन्त आयो । त्यहाँसम्म बुवालाई रिक्शामा लगेको थिएँ । मैले अस्पतालमा चाहिने सामग्री केही बोकेको थिइनँ । उर्मिला भाउजूले तातोपानी भरिएको तुम्लेट र सिरानी दिइन् । धन्न दुई घण्टापछि कोशी अञ्चल अस्पताल पुर्याइयो र आपत्कालीन अवस्थामा बुवाको शल्यक्रिया भयो ।
यो जोडी धेरै जनाको अभिभावक थियो । हाल अमेरिकामा रहेकी पूर्व भुटानी शरणार्थी बहिनीले उर्मिला भाउजूको निधन भएको सुन्नासाथ मसँग भनिन्, “दमकमा कलेजको शुल्क तिर्न पैसाको अभाव हुँदा म शिविरमा रहेका आमाबाबुलाई होइन, धेरैपटक डाक्टर अंकल र उर्मिला अन्टीलाई भेट्न गएकी छु, उहाँहरुले कहिल्यै रित्तै फर्काउनुभएन ।”
डा. भम्पा उपचार गर्न आफ्नो चेम्बरमा आएका एकदमै कम र दिन इच्छुकबाट मात्र शुल्क लिन्छन् । दमक—उर्लाबारी आसपासका सयौं रिक्शा—ठेला चालक, सफाइ कर्मचारी, सातवटै शिविरका भुटानी शरणार्थी र प्रायः चिनारुको उपचार निशुल्क गरेका छन् । सम्भव भएसम्म ओखती पनि निशुल्क दिएका छन् । औषधि बिक्रेताले दिएको ‘स्याम्पल’ उनले कहिल्यै बिक्री गरेनन् । उनको निवास पनि क्लिनिक जत्तिकै थियो । अनि बिरामीलाई केही नखुवाई नपठाउने भाउजूको आदत ।
भुटानी राजनीतिक तथा स्वदेशफिर्ती अभियान सम्बन्धी छलफल भइरहने राई निवासको चिया—खाजा नखाएका भुटानी अगुवा र नेताहरु शायदै होलान् । उनीहरु दानवीर शरणार्थी दम्पती थिए । उर्मिला भाउजूको मृत्युको खबरले अमेरिकामा रहेका धेरै पूर्व भुटानी शरणार्थी दुखी छन् । तत्कालीन भुटानी शरणार्थी शिविरका सचिव तथा कलाकार मनोज राई भन्छन्, “म यो खबरले अभिभावक विहीन भएको महशुस गरिरहेको छु ।”
आफ्ना पिताको १४ वर्षअघि दमकस्थित त्यही डेरामा निधन हुँदा मलामीहरुको सान्त्वना सुनिसकेपछि डा. भम्पाले भनेका थिए, “यो चिहानघारीमा मेरो लागि अरु तीनवटा खाली ठाउँ चाहिएको छ ।” अर्काे एकदिन बिरामी श्रीमती र बोली नआउने रोगी दिदीपछि मात्र आफ्नो काल आओस् भनेर डा. भम्पाले भगवानसँग प्रार्थना गरिरहँदा उनको गह भरिएको थियो ।
डा. भम्पा दक्षिण भुटानको साम्चीमा पर्ने बाँडाका बासिन्दा थिए । उनको दमक बेलडाँगी रोडस्थित क्लिनिकमा उपचारको लागि भुटानबाट कतिपय बिरामी अझै आउँछन्। परिचय खुलाउन नमान्ने त्यस्ता व्यक्तिले डा. राईलाई भुटानस्थित उनको खेतमा फलेको अन्न, हलुवावेद र आँगनको माटो उपहारस्वरुप ल्याइदिन्छन् । त्यो माटो सिरानीमा रातो टालोले बाँधेर राखिएको हुन्छ । मैले थाहा पाएसम्म हरेकदिन डा. भम्पा र उर्मिला भाउजू निधारमा त्यही माटोको टीका लगाउँथे ।
रोगाउँदै गएका राई दम्पतीलाई २०७४ सालमा नेपाल सरकारले रु.१० लाख, दमक नगरपालिका र झापा जिल्ला समन्वय समितिले रु.२ लाख ५० हजार समेत कुल रु.१२ लाख ५० हजार सहयोग गरेका थिए । तर, उर्मिला भाउजूको जीवन यहाँभन्दा अघि बढ्न सकेन ।
त्यो डेरामा चिया, उसिनेका आलु—सखरखण्ड, भुटेको चिउरा,मोःमो वा बिस्कुट खाँदै भुटानका अनेक राजनीतिक घटनाक्रम करीब कण्ठस्थ हुनेगरी सुनेको छु । विदेशमा गएर पढेको भुटानको डाक्टरसँग लगनगाँठो कसिएको, सुनकोस खोलामा बल्छीमा माछा मारेर ढुङ्गामा सुकाई पोलेर नुन खुर्सानीसँग खाएको, आफ्नै मोटर लिएर भुटान छोडेको, शरणार्थी बनेपछिका शुरुका दिनमा आधा पेट खाएका घटना भाउजूले धेरै पटक सुनाएकी हुन् ।
तर, अब हाम्रो भेट बाह्रघरे रोडको त्यो घरमा हुँदैन । म निकै भावुक र अन्योलमा छु, कुन भाषामा म डा. भम्पालाई समवेदना भनौं ।
आफ्ना पिताको १४ वर्षअघि दमकस्थित त्यही डेरामा निधन हुँदा मलामीहरुको सान्त्वना सुनिसकेपछि डा. भम्पाले भनेका थिए, “यो चिहानघारीमा मेरो लागि अरु तीनवटा खाली ठाउँ चाहिएको छ ।”
अर्काे एकदिन बिरामी श्रीमती र बोली नआउने रोगी दिदीपछि मात्र आफ्नो काल आओस् भनेर डा. भम्पाले भगवानसँग प्रार्थना गरिरहँदा उनको गह भरिएको थियो ।