शेयर बजार सोमबारदेखि खुल्दै
झण्डै तीन महीना बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबारबाट खुल्ने भएको छ । आइतबार नेपाल धितोपत्र बोर्डले शेयर बजार खुलाउने निर्णय गरेसँगै शेयर कारोबार हुने दोस्रो बजार पुन: शुरु गरिन लागेको हो।
बन्दाबन्दी घोषणासँगै ११ चैतबाट शेयर बजार नेप्सेमा कारोबार स्थगित गरिएको थियो । ३० र ३१ वैशाखमा नेप्सेमा कारोबार गरिएपनि दुई दिनमा नेप्से परिसूचक झण्डै ५० अंकले ओरालो झरेपछि फेरि बजार बन्द गरिएको थियो।
शेयर बजार लामो समय बन्द गरिएपछि कारोबार खोल्न सरकारलाई दबाब परेको थियो । तर, ओरालो झर्ने त्रासमा रहेका कतिपय लगानीकर्ताहरु भने शेयर बजारमा कारोबार बन्दाबन्दी कायम रहँदासम्म स्थगित नै गर्नुपर्ने पक्षमा छन् ।
धितोपत्र बोर्डले शेयर बजारका विषयमा अध्ययन गर्न बनाएको एक समितिले कारोबार खुलाउनुपर्ने पक्षमा प्रतिवेदन दिएपछि बजार खोल्न लागिएको हो।
धितोपत्र बोर्डले कारोबारको समय, सर्किट ब्रेक आदिका बारेमा निर्णय गर्न नेप्सेलाई नै निर्देशन दिएको छ।
यसअघि ३० र ३१ वैशाखमा दुई दिन बजार खोल्दा कारोबार समय घटाइएको थियो भने सर्किट ब्रेकको साविक व्यवस्थामा पनि हेरफेर गरिएको थियो । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले साविक व्यवस्थामा के–कस्तो हेरफेर हुन्छ भन्ने अझै निर्णय नभइसकेको बताए।
देशको एकमात्र शेयर कारोबारको दोस्रो बजार नेप्सेमा २ सय ५५ वटा कम्पनीका शेयर सूचीकृत छन् । सूचीकृत कम्पनीका शेयरको बजार पूँजीकरणको कुल मूल्य रु. १५ खर्ब ३६ अर्ब छ।