जब प्रहरी बन्दाबन्दीमा केक लिएर वृद्ध दम्पतीलाई शुभकामना दिन पुग्यो
काठमाडौं बालुवाटारकी तानभी महेश्वरी अध्ययनका लागि भारतको पुणेमा छिन् । उनले नेपाल आएर हजुरबुवा र हजुरआमाको विवाहको ५० औं वार्षिकोत्सव विशेष रुपमा मनाउने योजना बनाएकी थिइन्। यसका लागि काठमाडौं आउने हवाई टिकट समेत किनिसकेकी थिइन् । तर, त्यही वेला नेपाल र त्यसको भोलिपल्टदेखि भारतमा बन्दाबन्दी शुरु भयो।
आफू आउन सम्भव नदेखेपछि तानभीले शुरुमा काठमाडौंमा रहेका केही आफन्तहरुलाई आफ्नो तर्फबाट शुभकामना र वर्षगाँठको सौगात हजुरबुवा र हजुरआमासम्म पुर्याइदिन आग्रह गरिन् । तर, उनीहरुले बन्दाबन्दी कडाइ भएकाले केही गर्न नसक्ने जवाफ दिए।
यसबाट उनी निराश भइन् । तर, हजुरबुवा सत्यनारायण बाहेती र हजुरआमा सुनन्दासम्म कसैगरी पनि शुभकामना सौगात पुर्याउने उनको मनले निराशामा अड्किरहन दिएन।
तानभीले एउटा उपाय सोचिन्। २४ वैशाखमा नेपाल प्रहरीको फेसबूक पेजमा एउटा मेसेज लेखिन्, “आशा राख्छु तपाईंहरु राम्रो काम गरिरहनुभएको छ, मेरो एउटा इच्छा र अनुरोध छ, के यहाँहरुबाट सम्भव छ ?” उनले मेसेजमा आफ्ना हजुरबुवा र हजुरआमाको विवाहको ५० औं वर्षगाँठबारे जानकारी गराउँदै थप लेखिन्, “जहाजको टिकट लिएर पनि म काठमाडौं आउन सकिनँ, मेरो इच्छा छ- प्रहरी मार्फत मेरो माया र सन्देश मेरा वृद्ध हजुरबुवा–हजुरआमासम्म पुगोस् ।”
प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको सचिवालयको निर्देशनमा संचालित सामाजिक सञ्जाल व्यवस्थापनमा खटिएका प्रहरी अधिकारीहरुका लागि यस प्रकारको आग्रह अनौठो थियो । सचिवालयका डीएसपीहरु रामबाबु राना र कवित कटवालले यसबारे सचिवालयका एसपी भूपेन्द्र खत्रीलाई जानकारी गराए।
तानभीको आग्रहमा के गर्न सकिन्छ भन्ने विषयमा सचिवालयका सदस्यहरुबीच छलफल भयो। प्रहरीमा यसका लागि कुनै बेग्लै बजेट थिएन। सचिवालय सदस्यहरुले आफ्नै खर्चमा एउटा शुभकामना सन्देशसहितको कार्ड र केक लिएर जाने निधो गरे।
भारतीय मूलका सत्यनारायण र सुनन्दा बाहेती नेपाल बस्न थालेको ५० वर्ष पूरा भयो । उनीहरु विवाह लगत्तै काठमाडौं आएर यहीं बसिरहेका छन् । यतै छोराछोरी जन्मिए । उनीहरुको मन र सरसम्बन्ध यतै गाँसियो।
२६ वैशाखको अपराह्न प्रहरी प्रधान कार्यालयबाट हवल्दार भागीरथी भट्ट र एक सिपाही मिलन थापा केक र शुभकामना सन्देश बोकेर बाहेती दम्पतीलाई शुभकामना दिन बालुवाटार पुगे।
नातिनीको प्रतिनिधि बनेर प्रहरी शुभकामना सन्देश लिएर त्यहाँ पुग्दा वृद्ध दम्पती खुशीले फुरुंग बने।
“टाढा रहेकी नातिनीको प्रतिनिधि बनेर हामी पुग्दा उहाँहरुको खुशीको सीमा नै रहेन", भट्टले भनिन्।
प्रहरीको यो कामपछि तानभीले फेरि प्रहरीलाई सन्देश लेखिन्, “तपाईंहरुलाई धन्यवाद, धेरै धन्यवाद । तपाईंहरुको टीमलाई सलाम !"
प्रहरी प्रधान कार्यालयले महानिरीक्षक सचिवालय मातहत रहने गरी १२ अक्टोबर २०१२ बाट फेसबूक र अप्रिल २०१५ बाट ट्वीटरमा खाता खोलेर त्यसमा प्रहरी सम्बन्धी सूचना र जानकारी सम्प्रेषण गर्दै आएको छ।
प्रहरीले बन्दाबन्दीका वेला आएका सयौं सन्देशमध्ये २६ वटालाई गम्भीरतापूर्वक लिएर आवश्यक मानवीय सहयोग गरेको थियो। यसरी आएका सन्देशमा दाङमा ड्यूटीमा खटिएका स्वास्थ्यकर्मीलाई घर फर्कंदा प्रहरीले सास्ती दिएकोदेखि आन्तरिक परीक्षाको तयारीमा रहेका युवाको ल्यापटप बिग्रिएर पठनपाठन रोकिएकोसम्म थिए।
“प्राप्त सबै सन्देशलाई केलाएर आवश्यक र अत्यावश्यकहरुलाई पहिलो चरणमा सम्बोधन गर्ने प्रयास गरिरहेका छौं”, सचिवालयका एक डीएसपीले भने । उनका अनुसार, प्राय: सन्देशमा प्रहरीबाटै भएका गल्ती–कमजोरी औंल्याएका बढी हुने गरेका छन्।
२०७२ सालको भूकम्पका वेला उद्धार र राहतदेखि सम्भावित दुर्घटनाबाट नागरिकको सुरक्षामा सामाजिक सञ्जाल प्रभावकारी रहेको प्रमाणित भएको थियो । त्यसयता प्रहरीको एउटा सानो समूहले फेसबूक र ट्वीटरमा आउने सन्देश, जानकारीलाई गम्भीरतापूर्वक लिंदै आएको छ।
प्रहरीको फेसबूक पेज १३ लाख र ट्वीटरमा सात लाखभन्दा बढीले पछ्याउँछन्।
प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार, प्रहरीको सामाजिक सञ्जाल कोरोनाभाइरसका सम्भावित बिरामीको कन्ट्याक्ट ट्रेसिङमा समेत सहयोगी देखिएको छ । नेपालकी दोस्रो संक्रमित युवतीसँगै एउटै जहाजमा आएका ६ जनाका विषयमा प्रहरीलाई सामाजिक सञ्जाल मार्फत नै सूचना आएको थियो । यही सन्देश मार्फत ६ मध्ये पाँच जनालाई सम्पर्कमा ल्याएर क्वारेन्टिनमा राखिएको थियो।