प्रदेश २ का नदीमा पानीको सतह खतराको विन्दुमा पुग्न सक्ने
प्रदेश २ का प्रमुख तथा सहायक नदीमा पानीको सतह खतराको विन्दुमा पुग्न सक्ने भन्दै जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश २ का सप्तरी, बारा, पर्सा, रौतहट र सर्लाहीका नदीमा पानीको सतह खतराको विन्दुमा पुग्न सक्ने महाशाखाको बिहानको बुलेटिनमा उल्लेख छ । ती ठाउँका केही नदीमा अहिले पानीको सतह सतर्कताको विन्दुमा पुगिसकेको छ।
यी क्षेत्रमा सप्तकोशी, बागमती, लालबकैया, कमला लगायत नदी पर्छन् । प्रदेश २ मा शनिबार रातिदेखि नै मध्यम वर्षा भइरहेको छ। ती क्षेत्रमा आज दिनभरि नै वर्षाको सम्भावना छ।
खासगरी बागमती र कमलामा पानीको सतह खतराको विन्दुमा पुग्ने सम्भावना छ । प्रदेश २ का तटीय क्षेत्र तथा आसपासका बासिन्दालाई सजग रहन महाशाखाले आग्रह गरेको छ।
त्यसै गरी झापाको कन्काईमा पनि बाढीको सम्भावना छ । शनिबार राति प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी र उदपुरमा मध्यम वर्षा भएको छ । रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, सुर्खेत, अछाम लगायत भागमा पनि मध्यम वर्षा भएको छ । उदयपुर र नवलपरासी तथा आसपासका क्षेत्रका नदीमा पनि पानीको सतह बढ्न सक्ने महाशाखाले जनाएको छ।